विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा आयोजित लगानी सम्मेलनबाट समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्। विराटनगरमा बिहीबार उद्घाटन भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलनबाट ठूला लगानीका सम्भावना टेकेर व्यावहारिक छलफल र नयाँ लगानी भित्रिने आशा गरिएको बताए।
प्रधानमन्त्री ओलीले नेपालमा लगानीमैत्री वातावरण रहेको दाबी गर्दै निजी क्षेत्रलगायत सम्पूर्ण सम्भावित लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे। उनले कोशी प्रदेशमा यातायात पूर्वाधार मजबुत भएकाले उद्योगबाट उत्पादन भएका वस्तुहरूको बजारीकरण सहज हुने बताए। “हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी मार्गलगायत सञ्जालले पूर्वपश्चिम क्षेत्रलाई जोडेकाले व्यापार र ढुवानीमा कठिनाइ छैन,” प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा रहेका सम्भावनाहरूमाथि प्रकाश पार्दै कुनै पनि क्षेत्रमा लगानी गरे फाइदा हुने स्पष्ट पारे। उनले हाल निर्माणाधीन हुलाकी राजमार्ग र विस्तार भइरहेका पूर्वपश्चिम राजमार्गलाई ‘एसियन मापदण्ड’ अनुसारको पूर्वाधारका रूपमा विकास गरिने बताए।
सम्मेलन उद्घाटन समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको सशक्त वारेस बन्न तयार रहेको जनाए। उनले प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउने लक्ष्यसहित विभिन्न ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए। “हामी संघीय सरकारसँग समन्वय गरेर प्रक्रिया छिटो बनाउने प्रतिबद्धता लिएका छौं,” मुख्यमन्त्री कार्कीले भने।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र उत्पादनमूलक उद्योगसहित ८ वटा क्षेत्रमा ७१ परियोजनाहरू सार्वजनिक गरिएको छ। परियोजना छनोटका लागि विगत एक वर्षदेखि निजी क्षेत्रसँग सहकार्य र छलफल गरिएको प्रदेश सरकारले जनाएको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता रहेको छ। प्रदेश सरकारले यो सम्मेलनलाई दीर्घकालीन समृद्धिको आधारका रूपमा हेरेको छ।
प्रतिक्रिया