संखुवासभामा हत्या घटना: बुहारीले रचिन् योजना र ससुराको गराइन् हत्या

शुक्रबार, १९ बैशाख २०८२

विराटनगर : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा भएको एक दर्दनाक घटनामा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफ्नै बुहारीको योजनामा भएको खुलेको छ। वृद्ध अवस्थाका कुमाललाई आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको थियो।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार, मीनबहादुरको हत्या उनका ४५ वर्षीया बुहारीले भाडाका दुई किशोर प्रयोग गरेर गराएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो। हत्या योजनामा १२ वर्षीया नातिनीसमेत संलग्न रहेको जनाइएको छ।

२० हजारको लोभमा हत्या योजना
बुहारीले २० हजार रुपैयाँ दिने प्रलोभनमा दुई किशोरलाई प्रयोग गरी ससुराको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ। ती किशोर मजदुरी गर्दै आएका थिए। डीएसपी बस्नेतका अनुसार, मदिरा सेवनपछि नशामा योजनाबद्ध रूपमा ससुराको बस्ने कोठा देखाइदिएर हत्या गराइएको हो।

वैशाख १३ गते राति, बुहारीले दुई किशोरलाई घरमा बोलाइन्। त्यस रात बुहारी, नातिनी र ती किशोरहरूले सँगै जाँड सेवन गरे। जाँडको नशा लागेको बेला बुहारी र नातिनीले ससुरा सुत्ने स्थान देखाइदिएपछि किशोरहरूले घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि चारै जना बुहारीकै घरमा गएर सुतेको प्रहरीले जनाएको छ।

चार जनामाथि अभियोग, अनुसन्धान जारी
प्रहरीले घटनामा संलग्न आरोपमा बुहारी, नातिनी र दुई किशोरलाई पक्राउ गरेको छ। बालबालिकाको गोपनीयता संरक्षणका कारण प्रहरीले पत्रकार सम्मेलनमा मात्र बुहारीलाई सार्वजनिक गरेको हो। अभियुक्तहरूमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको छ र अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ।

मृतक आफैँ पनि आपराधिक पृष्ठभूमिका
प्रहरी अनुसार, मीनबहादुर कुमाल आफैँ पनि आपराधिक पृष्ठभूमिका थिए। २०५९ सालमा आफन्तको हत्या गरेका उनी त्यसबापत कैद भुक्तान गरेर छुटेका थिए। छुटेपछि २०७१ सालमा आफ्नै छोरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। त्यस घटनामा उनी दोषी ठहर भई ५ वर्ष कैद सजाय पनि भोगेका थिए।

पारिवारिक तनाव र डर स् हत्या पछाडिको पृष्ठभूमि
मृतकका छोरा हाल वैदेशिक रोजगारीमा छन्। प्रहरीका अनुसार मीनबहादुरले विदेशबाट फर्किएपछि छोराको हत्या गर्ने धम्की दिँदै आएका थिए। त्यसमाथि, पत्नीको उपचारका लागि जग्गा बिक्री गर्न खोजेपछि परिवारमा थप विवाद उत्पन्न भएको थियो।

यसै पारिवारिक तनाव र आत्मरक्षाको डरका कारण बुहारीले यस्तो जघन्य अपराधको योजना बनाएको बयान उनले दिएको प्रहरीको दाबी छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार