इटहरी : पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित विविए कार्यक्रममा इटहरीस्थित कस्तुरी कलेजकी छात्रा निशा शेर्पाले नेपालभरि पहिलो स्थान हासिल गरेकी छिन्। यो ऐतिहासिक उपलब्धिको अवसरमा कलेजले मंगलबार एक विशेष सम्मान समारोहको आयोजना गर्यो।
समारोहका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मी थिए। उनले निशा शेर्पाको परिश्रम र सफलता प्रशंसायोग्य भएको भन्दै आगामी दिनमा अझ उच्च उपलब्धिको शुभकामना व्यक्त गरे।
कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले कार्यक्रममा अध्यक्षता गर्दै भने, “हाम्रो लक्ष्य केवल स्नातक उत्पादन होइन, जिम्मेवार र सक्षम नागरिक निर्माण गर्नु हो।” उनले निशालाई उज्वल भविष्यको कामना गरे। कस्तुरी एकेडेमीका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्दै अघिल्ला सफल विद्यार्थीहरूको स्मरण गरे। उनले सन् २००८–२०१२ की सन्चिता कोइरालाले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट सम्मान पाएको, र २०१२–२०१६ की सार्थिका तोदीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान ग्रहण गरेको उल्लेख गर्दै, अब निशा शेर्पाले गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणपत्र पाउने तयारी रहेको बताए।
सम्मान समारोहमा निशा शेर्पा स्वयंले भावुक हुँदै आफ्नो सफलताको श्रेय कलेज, शिक्षकहरू र सहपाठीलाई दिइन्। उनले भनिन्, “कस्तुरी कलेजले मलाई केवल किताबी ज्ञान मात्र दिएन, जीवन बुझ्ने दृष्टिकोण पनि सिकायो। यो सफलता मेरो मात्र होइन, सम्पूर्ण कस्तुरी परिवारको हो।” साथै उनले इटहरीको माटो, कलेज र यहाँका शिक्षकप्रति गहिरो कृतज्ञता व्यक्त गरिन्।
कार्यक्रमपश्चात् कस्तुरी कलेजका प्राचार्य प्रेमप्रसाद न्यौपानेले सफलताको मूल आधार विद्यार्थीको परिश्रम, कलेजको समर्पित टिम र अभिभावकहरूको साथ रहेको बताए। उनले भने, “हामी शिक्षकहरूको सफलता तब मात्रै सार्थक हुन्छ, जब विद्यार्थीहरूले संस्थाको नाम गर्वका साथ उचो बनाउँछन्।”
कस्तुरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कमलेश शर्मा पौडेलले शिक्षालाई जीवनका आदर्श निर्माण गर्ने प्रक्रिया भन्दै निशा शेर्पाले त्यसको उत्कृष्ट उदाहरण पेश गरेको बताए। त्यस्तै, कलेजका शिनियर कोर्डिनेटर द्रोण न्यौपानेले आफ्नै अध्यापन गरेकी छात्राले नेपाल प्रथम स्थान हासिल गर्नु गौरवको क्षण भएको बताए। उनले भने, “निशाको सफलता न केवल कलेज र विश्वविद्यालयको, तर इटहरी र देशभरका शैक्षिक संस्थाका लागि प्रेरणादायी उपलब्धि हो।”
सम्मान समारोहमा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया