इटहरी : इटहरी उपमहानगरपालिका–२ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ४८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा ४३ वर्ष सेवा गरेका पूर्व प्रधानाध्यापक पदमकुमार थापालाई विशेष सम्मानसहित बिदाइ गरिएको छ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्य रहेको थियो। यस अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ। साथै कक्षा १ देखि ५ सम्मका सबै छात्रा तथा सोही तहसम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ।
शुभकामना मन्तव्य राख्ने क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजजी धमला, घनश्याम बराल, पूर्व अध्यक्ष हेमलाल भट, पूर्व विद्यार्थी समाजका सल्लाहकार गणेश निरौला, शिक्षक ठाकुरप्रसाद पुरी र समाजसेवी भीमादेवी तुम्बाहाम्फे लगायतले विद्यालयको प्रगतिमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गरे।
विद्यालयका वर्तमान प्रधानाध्यापक मेदनकुमार घिमिरेले विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ भइरहेको जानकारी दिँदै, शिक्षाको गुणस्तर सुधार अभिभावक, शिक्षक र समाजको साझा प्रयासबाट मात्र सम्भव हुनेमा जोड दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र घिमिरेले भौतिक संरचनाको अभावले चुनौती भए पनि सुधारका कामलाई तीव्रता दिइएको बताए।
स्थापना दिवस र बिदाइ समारोहले विद्यालयको ऐतिहासिक योगदान र भावी योजनाप्रति समेत सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। कार्यक्रमको सञ्चालन शिक्षक योगेन्द्र पौडेलले गरेका थिए ।
प्रतिक्रिया