बिर्तामोडमा व्यावसायिक सीप तालिम सम्पन्न

शुक्रबार, ०९ जेठ २०८२

बिर्तामोड : झापाको  बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर तथा व्याग बनाउने सीपमूलक तालिमको औपचारिक समापन गरिएको छ। लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममार्फत ४४ जनाले व्यावसायिक सीप हासिल गरेका छन्।

दुई महिनासम्म सञ्चालन भएको सिलाई कटाई तालिममा वडा नम्बर २, ५ र ९ का २० जना सहभागी भए। त्यस्तै व्युटिपार्लर तालिममा वडा नम्बर २, ५, ७ र ९ का ११ जना सहभागी थिए। यसैगरी, ४५ दिनसम्म सञ्चालन भएको व्याग बनाउने तालिममा वडा नम्बर २ का १४ जनाको सहभागिता रह्यो।

तीन छुट्टाछुट्टै तालिममा सहभागी ४४ जनालाई प्रमाणपत्र वितरण गरिएको हो। व्युटिसियन तालिमको प्रशिक्षण उमा कटुवाल भण्डारी र अर्चना बुढाथोकीले, सिलाई कटाई तालिमको महेन्द्रकुमार नेपालीले र व्याग बनाउने तालिमको प्रशिक्षण पिताम्बर खतिवडाले दिएका थिए।

तालिम समापन समारोहमा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सहभागीहरूलाई सिकेको सीपलाई व्यवसायिक रुपमा उपयोग गर्दै आर्थिक लाभ लिन सुझाव दिइन्। “सिपलाई रोजगारी र उद्यमसँग जोड्न सके आत्मनिर्भरता हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रम उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङका अनुसार यो आर्थिक वर्षभित्र प्रविधि हस्तान्तरण, स्तरोन्नति, वित्तीय साक्षरता र बजारीकरणसम्बन्धी थप तालिमहरू सञ्चालन गरिनेछ।

तालिम समापन कार्यक्रम आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, उपसचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य शर्मिला राजवंशी, तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, लेखा अधिकृत तेजिन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार