झापा : बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ।
अभिभावकत्वसँगै प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बराबरको स्टेशनरी सामग्री तथा नगद एक हजार रुपैयाँ प्रदान गरिएको हो।
बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको उपस्थितिमा स्टेशनरी सामग्री र नगद सहयोग वितरण गरिएको थियो।
जेसीजले २०२३ देखि सञ्चालन गर्दै आएको यो कार्यक्रमले प्रत्येक वर्ष नयाँ विद्यार्थीहरूलाई शिक्षाका लागि आवश्यक सामाग्री र आर्थिक सहयोग प्रदान गर्दै आएको छ। यस वर्ष पनि सोही परम्परा अनुसार एक सदस्य, एक अभिभावक नाराका साथ कार्यक्रमलाई निरन्तरता दिइएको छ।
कार्यक्रममा अध्यक्ष चम्लागाई स्वयंले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। उनले अमृत माविका मनिष राजवंशी र सुन्दरपूर विद्यालयकी आशिका गणेशलाई शिक्षाका लागि साथ दिने प्रतिबद्धता जनाए।
त्यस्तै, जेसीज २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलबारी माविकी पद्मा राजवंशीको अभिभावकत्व लिएका छन्। संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षसम्मले समेत बालबालिकाहरूको अध्ययन जिम्मा लिएका छन्।
कार्यक्रमको दोस्रो खण्डमा भित्तेपात्रो विमोचन गरिएको थियो जसको संयोजन विश्वास गौतमले गरेका थिए भने अभिभावकत्व ग्रहण कार्यक्रम राजु अधिकारीको संयोजकत्वमा सम्पन्न भयो।
गाउँपालिका अध्यक्ष चम्लागाईले जेसीजको कार्यको प्रशंसा गर्दै यस्ता रचनात्मक प्रयासहरूले विपन्न वर्गका बालबालिकालाई उज्यालो भविष्यतर्फ डोऱ्याउने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत निरौलाले यस्ता कार्यक्रमको निरन्तर अनुगमन आवश्यक रहेको सुझावसमेत दिए।
कार्यक्रममा प्रधानाध्यापक थीरकुमार दाहाल, वडा अध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यो कार्यक्रमले केवल विद्यार्थीको शिक्षामा सहजीकरण मात्र होइन, समाजमा सामूहिक उत्तरदायित्व र समवेदना जागृत गराउने कार्य समेत गरिरहेको छ।
प्रतिक्रिया