लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको तयारी पूरा

आइतबार, २३ कार्तिक २०८२

फिदिम : लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

नेपालका १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१औं जन्म जयन्तीका अवसरमा आउँदो बुधबार आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘खुला महिला तथा पुरुष, बालबालिका र भेट्रान्स हाफ म्याराथन–२०८२’ नामकरण गरिएको हो।

प्रतियोगिता एथलेटिक्स संघ पाँचथर, किराँत धर्म तथा साहित्य उत्थान संघ, लब्रेकुटी पर्यटन विकास समिति र किराँत साङसेन वरक चोत्लुङ माङहिमको संयुक्त आयोजनामा सञ्चालन गरिनेछ। आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो।

एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापोका अनुसार यस वर्ष खुला पुरुष, खुला महिला, बालक, बालिका र भेट्रान्स गरी छ वटा विधामा प्रतिस्पर्धा गराइनेछ। म्याराथन फाल्गुनन्दको कर्मथलो लब्रेकुटीदेखि कान्छी दोकान, पौवा भञ्ज्याङ, ध्वजे डाँडा हुँदै लब्रेकुटीमै समापन हुनेछ।

खुला पुरुषतर्फ ३०, २० र १० हजार रुपैयाँ, महिला तर्फ १०, ७ र ५ हजार, बालबालिका तर्फ ५, ३ र १ हजार, र भेट्रान्सतर्फ १०, ६ र ४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजक अध्यक्ष तुम्बापोका अनुसार खुला पुरुषतर्फको म्याराथन लामो दुरीमा हुनेछ भने महिला, बालबालिका र भेट्रान्सतर्फ ६ किलोमिटर दूरीको प्रतिस्पर्धा गराइनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार