तपाईंहरु प्रदेश सरकारबाट बाहिरिनुभयो, के कारणले हो ?
राष्ट्रपतिको निर्वाचनपछि केन्द्रमा राजनीतिक समीकरण बदलियो । सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भयो । अरु ३ वटा प्रदेशमा पनि आवश्यक पुनःसंरचना गरियो । कोसीमा बाँकी थियो । कोसीको संसदीय अंकगणित पनि असहज बन्यो । वर्तमान सरकारलाई केही परसम्म निरन्तर रूपमा लैजाऔँ भन्ने हामीले चाहेका थियौँ । तर चाहेजस्तो भएन । प्रदेशको नामकरण गरेदेखि नै असन्तुष्टिहरु देखा परेपछि प्रदेश अशान्त बन्यो । संवादका माध्यमबाट समाधान खोज्न मुख्यमन्त्री हिक्मकुमार कार्कीलाई आग्रह ग¥यौँं । तर, मुख्यमन्त्री वार्ता गर्ने विषयमा धेरै अनुदार र पहिचान पक्षधरसँग पूर्वाग्रही बन्नुभयो । उहाँको नेतृत्वमा रहेको सरकारबाट समस्याको समाधान नहुने देखेपछि पहिचानवादी साथीहरुले पनि माओवादी सरकारबाट फिर्ता होस् भन्ने चाहना राख्नुभयो । त्यसलाई अस्वीकार गर्न नसकिएको अवस्थामा सरकारबाट फिर्ता भयौँ । संघमा हामीसँग गठनबन्धनमा रहेको नेपाली कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन पटकपटक आग्रह ग¥यो । त्यसपछि स्वाभाविक रुपमा केन्द्रमा सत्ता साझेदारको दबाब र चाहनासँगै कोसी प्रदेश सरकारमा माओवादी रहन हुँदैन भनेर भनिसकेपछि हामीले सरकारलाई दिएको समर्थन कायम राख्न सकेनौँ । एमाले र माओवादी सँगसँगै सरकारमा बसिरहँदा उहाँहरुमा संशय रहने अवस्था आएकाले सरकार छाडेका हौँ । अर्को कुरा, नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याएपछि र सम्माननीय प्रधानमान्त्रीको सफल भारत भ्रमणपछि संसदमा एमालेबाट निरन्तर हमला भयो । नागरिकता प्रकरणमा राष्ट्रपति एवं प्रधानमन्त्रीमाथिको हमलाका साथै एमालेको उदण्ड व्यवहार र कार्यशैलीले हामीलाई एमाले नेतृत्वको प्रदेश सरकारमा बसिरहन दिएन । संसदमा सम्माननीय प्रधानमन्त्रीमाथि दुर्व्यवहार नै भएपछि स्वाभाविक रूपमा प्रदेशमा एमालेसँग सहकार्य गरेर जाने सम्भावना भएन । त्यसकारण सहकार्यलाई निरन्तरता दिनसक्ने अवस्था खल्बलिएपछि हामी सरकारबाट अलग भएका हौँ ।
आगामी सरकारको स्वरुप कस्तो होला ?
गठबन्धनमा आबद्ध दलकै नेतृत्वमा अबको सरकार बन्छ । संविधानको धारारा १६८ (२) अनुसार नै सरकार बन्छ ।
सरकारको नेतृत्वचाहिँ माओवादी कि कांग्रेसले गर्छ ?
पछिल्लो परिवर्तन भइसकेका ३ वटा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरिसकेको छ । सबभन्दा ठूलो कुरा को मुख्यमन्त्री बन्छ र कसले सरकारको नेतृत्व गर्छभन्दा पनि प्रदेशमा देखिएको समग्र समस्याको समाधान गर्दै राजनीतिलाई निकास दिनुछ । त्यसका निम्ति पनि आन्दोकारीसँग समान एजेन्डा भएको माओवादीले सरकारको नेतृत्व गर्दा राजनीतिक समस्या समाधान हुन्छ । त्यही भएकाले अबको सरकारको नेतृत्व माओवादीले गर्नु नै उपयुक्त हुन्छ । यसमा हाम्रो दाबी पनि छ । अर्कातिर गठबन्धन दलका शीर्ष नेताहरुले कुनै समझादारी गर्नु भयो भने त्यसमा हाम्रो आपत्ति हुने छैन ।
प्रदेशसभाको अंकगणित हेर्दा नयाँ सरकार गठनका लागि तपाईंहरुको पक्षमा बहुमत पुग्छ त ?
पुग्छ । हामी ४७ जना नै छौँ । पहिलो कुरा गठबन्धन दलकै बहुमत पुग्छ । गठबन्धन एक हुनेबित्तिकै सरकार बन्ने कुरामा द्विविधा छैन । सभामुख तटस्थ व्यक्तित्व भएको हिसाबले पक्षधरता लिन हुँदैन भन्ने नैतिक प्रश्न हो । तर, प्रदेशमा संवैधानिक संकट आउने अवस्थामा ती नैतिक प्रश्नहरु सामान्य हुन जान्छन् । विधेयक, नीति तथा कार्यक्रममा सभामुखले निर्णायक मत दिन पाउँछन् । त्यही भएकाले कुनै निर्णय नदिनेभन्दा हामी सहज बहुमत जुटाउनेमा लागेका छौँ । हामी सहज बहुमतका साथ नयाँ सरकार बनाउँछौँ ।
नयाँ सरकार गठनमा राप्रपाको भूमिका कस्तो रहला ?
राप्रपा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको पार्टी हो । त्यही बाध्यतावश उसले एमालेलाई अन्तिम समयसम्म साथ दिन्छ भन्ने लाग्छ । तर एमालेले बहुमत प्राप्त गर्दैन अनि प्रदेश अप्ठेरो अवस्थामा पुग्ने स्थिति आयो वा मध्यावधि निर्वाचनतिर गयो भने त्यसको जिम्मेवारी राप्रपाले लिनुपर्छ । प्रदेशको जिम्मेवार पार्टी भएकाले राप्रपा असहज र संकटपूर्ण अवस्था आउन नदिन उ पनि जिम्मेवार छ । हुनुपर्छ । यसमा राप्रपा गम्भीर छ भन्ने लाग्छ ।
गणतन्त्र ल्याउन मुख्य भूमिका निर्वाह गरेको दाबी गर्ने माओवादी राप्रपाको सहयोग नभइ नहुने अवस्थामा आइपुग्यो होइन ?
खासमा राजसंस्था आउने हो भने राप्रपालाई संघीयता र गणतन्त्र केही पनि चाहिँदैन । तर, त्यसो नहुँदा त उसलाई पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता चाहिएकै छ नि ! राजसंस्थाको कुरा उहाँहरुको राजनीतिक मुद्दा भए पनि तर, व्यावहारिक हिसाबले सबै प्रक्रियामा सहभागी हुनुहुन्छ ।
मध्यावधि निर्वाचनको चर्चा पनि चलिरहेको छ । सम्भावना छ ?
यसको कुनै सम्भावना छैन । प्रदेशलाई मध्यावधि वा अर्को कुनै पनि संवैधानिक संकटतर्फ लैजाने काम कुनै पनि दलबाट हुन हुँदैन । जबरजस्ती मध्यावधितिर धकेल्ने प्रयास भयो भने एकतावद्ध भएर त्यसलाई सामना गर्छौं ।
प्रदेशसभाका सभामुख माओवादीबाट प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ, सरकारका लागि राप्रपाले साथ नदिएको अवस्थामा संख्या पुर्याउन सभामुखको जिम्मेवारीबाट उहाँ अलग हुने हो ?
राजीनामाबारे हामीले सोचेका छैनौँ । हो, सभामुखले गतिरोध फुकाउन निर्णायक मत दिनुपर्ने अवस्था आउन सक्ला । अहिलेका लागि उहाँको राजीनामाको सम्भावना छैन ।
पछिल्लो समय अनेक कारणले संघीयताप्रति नै प्रश्न गर्न थालिएको छ । यसप्रति विष्तृणा बढेको जस्तो लाग्दैन ?
संघीयता ठूलो संघर्ष गरेर ल्याइएको हो । यसक्रममा ठूलो शक्ति पराजित भयो । प्रदेशले अपेक्षाकृत सेवा प्रवाह गर्न नसक्दा यस्ता कुरा उठेका हुन सक्छन् । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । अर्को कुरा, अहिलेको अस्थिरताको कारण राजनीतिक दल मात्रै होइनन् । जनताबाट प्राप्त जनादेश नै अहिले सत्ता समीकरणका लागि ठूलो छलफल र बहसको विषयवस्तु बनेका छन् । यसैले प्रदेशमा अस्थिरता आउने, निराशा छाउने र प्रदेशप्रति नकारात्मक धारणा सार्वजनिक हुने क्रम देखिएको हो । प्रदेशप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै जानुपर्छ । यसका विरुद्ध धारणा बढ्न दिनु हुँदैन ।
प्रतिक्रिया