इटहरी । कोशी प्रदेशभित्र यसवर्षको दसैंमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । प्रदेशमा १४ वटा जिल्ला छन् । दसैंको अवधिभर एक सय ६१ वटा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो । यद्यपि, विगतको तुलनामा यसवर्षको दसैंमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ । दुर्घटनामा परी झापामा सबैभन्दा धेरै सात जनाको मृत्यु भएको छ । मोरङमा पाँच, सुनसरीमा चार तथा उदयपुर र ओखलढुंगामा एक÷एक जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी मोहन दाहालले बताए । उनका अनुसार दुर्घटनामा ४० जना गम्भीर र दुई सय ४५ जना सामान्य घाइते भएका थिए । तीव्र गतिका कारण ६४, मापसे (मादक पदार्थ सेवन)का कारण आठ, बिना लाइसेन्स (सवारी चालक अनुमति पत्र) सवारी कुदाउँदा १६, बाटो काट्दा ११ र सवारीसाधनको असुरक्षित प्रयोगका कारण सातवटा दुर्घटना भएको जानकारी दाहालले दिए । उनका अनुसार दसैं अवधिभर ट्राफिक नियम उल्लंघन गर्ने छ हजार नौ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गर्दा ४७ लाख ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/०८० को दसैंमा एक सय ८० वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परेर २२ जनाको मृत्यु हुनुका साथै ४४ जना गम्भीर र दुई सय ३३ जना सामान्य घाइते भएका थिए । उक्त अवधिमा सात हजार तीन सय ११ सवारीसाधनलाई कारबाही गर्दा ४७ लाख ३५ हजार रूपैयाँ राजस्व उठेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को दसैंमा एक सय ७१ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना गम्भीर र दुई सय ७३ जना सामान्य घाइते भएका थिए । ट्राफिक नियम उल्लंघनको कसूरमा आठ हजार सात सय ९१ वटा सवारीसाधनलाई कारबाही गर्दा ५९ लाख ६५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको थियो । चाडपर्वलाई लक्षित गरी ट्राफिक सक्रियता बढाएर सार्वजनिक सवारीसाधनमाथि निगरानी गरिएका कारण यसवर्षको दसैंमा सवारी दुर्घटनामा कमी आएको कोशीका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताए । यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ प्रदेशभर ५९ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको थियो । यात्रुसँग बढी भाडा लिने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, गन्तव्यसम्म नपुर्याउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने सवारीसाधनलाई कारबाही गरिएको एसपी पौडेल बताउँछन् । उनका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ४७ र मापसे गरेर चलाउने एक सय ४८ तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन चलाउने दुई सय ८७ जना चालकलाई कारबाही गरिएको छ । दसैंको अवधिमा सवारी चालक, पैदल यात्रीसमेतका सडक प्रयोगकर्तालाई लक्षित गरेर विभिन्न स्थानमा छ सय ६६ वटा जनचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया