विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरू बिच प्रत्यक्ष संवाद मार्फत व्यवसायीक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताए । स्वदेश तथा विदेशका व्यवसायीहरूलाई प्याकेजमा सम्झौता गराउने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम तय गरिने उनको भनाइ छ ।
कार्यक्रममा सम्बोधन गर्दै उनले काँकडभिट्टा नाकामा देखिएको समस्याको कारण विदेशी पर्यटक भित्राउन समस्या भएको जानकारी गराए । भारतीय पर्यटकलाई स्थानीय सरकारले जबरजस्ती पार्किङ कर उठाउने गरेको गुनासो गर्दै उनले एकद्धार प्रणालीबाट भ्रमण अनुमतिको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
सन् २०१८ देखि सुरु भएको मार्ट कोरोना महामारीको कारण बिचमा स्थगित भएर यस पटक चौथो संस्करण गर्न लागिएको हो ।
इस्टर्न ट्राभल्स मार्ट २०२४ का सचिव वासुदेव बरालका अनुसार नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको संयुक्त लगानीमा मार्ट आयोजना भएको हो । पर्यटन बोर्डबाट ३० लाख र इटहरी उपमहानगरपालिकाको ३ लाख गरी ३३ लाख लगानीमा मार्ट सम्पन्न हुने उनले बताए ।
कोशी प्रदेशको समग्र उत्पादनलाई सीमावर्ती भारतीय सहरमा पुर्याउने उद्देश्यको साथ प्रदेशका महत्त्वपूर्ण व्यापारिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागिएको सचिव बरालको दाबी छ । विदेशी बाहेक नेपाल भित्रैबाट लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० भन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता भएको उनले जानकारी दिए ।
प्रतिक्रिया