पुलिसलाई पराजित गर्दै काकडभिट्टा सेमिफाइनलमा

सोमबार, १५ फागुन २०७९
धरान । नेपाल पुलिस क्लबलाई पराजित गर्दै काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धरान रंगशालामा भएको खेलमा काकडभिट्टाले पुलिसलाई २–० गोल अन्तरले पराजित ग¥यो । सेमिफाइनलमा काकडभिट्टाले बुधबार युकेएफसी भारतसँग खेल्ने भएको छ । युकेएफसी भारत उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । काकडभिट्टाकालागी दुवै गोल निशान लिम्बूले गरे । उनले खेलको २० औं मिनेटमा विदेशी खेलाडी यमीको पासमा गोल गरे । उनले दोस्रो गोल खेलको ८१ औं मिनेटमा गरेका थिए । नेपाल पुलिस क्लबले सुमन सुवेदी, जुमनु राई, भोला सिलवाल जस्ता अनुभवी खेलाडी मौदानमा उतारे पनि उनीहरुको प्रदर्शन राम्रो रहेन । पुलिसका भोला सिलवाले खेलको छैठौ मिनेटमा नै वान भर्सेज वानमा गोल गर्न चुके । काकडभिट्टाका डिफेन्सले बल क्लियर गर्न नसक्दा उनले मौका पाएका थिए । त्यस्तै खेलको १२ मिनेटमा पुलिसका समिर राईले पनि राम्रो अवसरमा गोल गर्न सकेनन् । डिफेन्स बिट भइसकेको अवस्थामा उनी गोल गर्न चुके । खेलको २७ औं मिनेटमा निशान लिम्बूले प्रहार गरेको फ्रिकिक बल बारमा लागेर फर्किएको थियो । खेलको ४२ औं मिनेटमा काकडभिट्टाका यमीको प्रहार पोष्ट नजिकबाट बाहिरियो । खेलको दोस्रो हाफमा काकडभिट्टाले पुलिसलाई दबाबमा राख्यो । पुलिसले सन्देश विकको स्थानमा जुमनु राईलाई मैदान प्रवेश गराएको थियो तर उनले पनि आशातित खेल प्रदर्शन गर्न सकेनन् । खेलको म्यान अफ द म्याच काकडभिट्टाका निशान लिम्बू घोषित हुँदै नगद पुरस्कार १० हजार प्राप्त गरे । भोलीको अन्तिम क्वाटर फाइनल खेल बंगलादेशको केबिपिएस र एन्फा मोरङबीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता यही फागुन २० गतेसम्म धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजना गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार