बुढासुब्बा गोल्डकपः उपाधिका लागि क्यामरुन र काँकडभिट्टा भिड्दै

शनिबार, २० फागुन २०७९
धरान । २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा भिड्दैछन् । शनिबार धरान रंगशालामा हुने फाइनल खेलमा झापा र क्यामरुनको लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ । प्रतियोगितामा जसले जिते पनि नयाँ च्याम्पियन हुनेछ । झापा यस पटक समेत गरेर ३ पटक बुढासुब्बा गोल्डकपमा सहभागी भयो । पहिलो पटक फाइनलमा पुगेको झापा उपाधि जितेर इतिहास रच्न चाहन्छ । झापाका प्रशिक्षक मुन्ना सुब्बाले बुढासुब्बाको उपाधि जितेर घरेलु दर्शकलाई खुसी दिने बताए । यता एभिनियर एफसी क्यामरुन २ वर्षदेखि नेपालका विभिन्न गोल्डकपमा खेलिरहेको छ । यसै सिजनमा एभिनियरले बर्दिबास गोल्डकपको उपाधि जितेको छ । बर्दिबासको उपाधि जित्दा फाइनल खेलमा रिचार्ड विल्सन एक्लैले पाँच गोल गरेका थिए । शारिरीक रुपमा झापाको तुलनामा एभिनियरका खेलाडी बलिया छन् । आफ्नो ‘खेलाडीहरु फिजिकल्ली स्ट्रोङ रहेको र त्यसले पनि विपक्षिलाई पराजित गर्न सजिलो हुने’ एभिनियरका प्रशिक्षक आशिक थापा मगर बताउछन् । झापाले बुढासुब्बा गोल्डकपमा ५ गोल गर्दा मात्र १ गोल खाएको छ । एभिनियरले भने ३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । पहिलो खेलमा झापाले नेपाल पुलिस क्लबलाई २–० र दोस्रो खेलमा युनाइटेड कर्साङलाई ३–१ गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको हो । झापाका निशान लिम्बूले सर्वाधिक ३ गोल गरेका छन् । झापाका विदेशी खेलाडी यमि प्लेमेकरको रुपमा मैदानमा खरो प्रदर्शन गर्छन् । उनले पनि प्रतियोगितामा २ गोल गरेका छन् । यता एभिनियरले पहिलो खेलमा बागमती युवा क्लबलाई १–० र सेमिफाइनलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । विगतमा एभिनियर र झापाले ३ पटक खेलेका छन् । जसमा झापाले २ पटक जितेको छ भने एभिनियरले एक पटक जितेको छ । बेलबारी गोल्डकपमा एभिनियरले टाइब्रेकरमा ४–२ गोल अन्तरले जितेको थियो भने झापाले इटहरी गोल्डकपमा १–० र काकडभिट्टा गोल्डकपमा २–० गोल अन्तरले जितेको थियो । २३ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि नयाँ टिमलाई जाने निश्चित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार