ए-डिभिजन लिग: एपीएफ र चर्च ब्वाइज विजयी

शनिबार, २० फागुन २०७९
काठमाडौं । विभागीय टोली एपीएफ क्लब शहीद स्मारक ए-डिभिजन लिग फुटबलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक/एक गोल गरे । खेलको ७२ औँ मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । त्यस्तै शनिबार नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले स विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा शनिवार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चर्चको जितमा आशिष् चौधरी र फ्रान्कलिन क्विटे टलाले एक/एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल फर्काए । खेलको १४ औँ मिनेटमा रविले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा हार बेहोर्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औँ मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए । जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार