विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले खोटाङलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग फोक्सिङ्टार–धाप्लाङघाट सडकको ट्याक खोल्ने कार्यको शनिबार विधिवत रूपमा शुभारम्भ गरेका छन्। बराहपोखरी गाउँपालिका–३ स्थित लामाचौरमा पूजापाठसहित आयोजित कार्यक्रममा मन्त्री राईले सडक निर्माणको पहिलो चरणको काम सुरु गरिएको घोषणा गरे।
शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, वडाध्यक्षहरू, स्थानीय समाजका अगुवाहरू र नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङ जिल्लालाई प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्। उनले भने, “बाढीले पुल बगाएर खोटाङ नाकाबन्दीमा परेको अवस्थाले वैकल्पिक बाटोको आवश्यकतालाई झनै स्पष्ट बनायो। त्यसपछि दिक्तेल बजारसम्म वैकल्पिक मार्ग विस्तार गर्ने निर्णयमा हामी अघि बढ्यौं।”
उनका अनुसार ट्याक खोल्नुअघि आवश्यक पर्ने धाप्लाङघाटको पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ र चाँडै सञ्चालनमा आउनेछ। “अब हामीले यो वैकल्पिक सडक सञ्जालमार्फत खोटाङलाई तराईसँग निरन्तर सम्पर्कमा ल्याउनेछौं,” मन्त्री राईले बताए।
फोक्सिङ्टारदेखि धाप्लाङ्सम्मको करिब ९ किलोमिटर लम्बाइको ट्याक खोल्न प्रदेश सरकारले गत आर्थिक वर्षमा ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आवका लागि विनियोजित ४५ लाख रुपैयाँ बराहपोखरी गाउँपालिकालाई वित्तीय हस्तान्तरणमार्फत उपलब्ध गराइएको हो, जसबाट उपभोक्ता समितिमार्फत काम सुरु गरिएको छ। बाँकी बजेटको काम टेण्डर प्रक्रियामार्फत मन्त्रालयमार्फत अघि बढाइएको छ।
मन्त्री राईले पुल निर्माण, बेलीब्रिज स्थापना तथा अन्य आवश्यक पूर्वाधार निर्माणको लागि आवश्यक बजेट व्यवस्थापन भइसकेको जानकारी दिए। पिप्ले पुलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ।
उनले भने,
अब खोटाङ ‘भरियाको गाउँ’ भनेर चिनिने होइन, सडक सञ्जालले समृद्ध बन्दै गएको क्षेत्रका रूपमा परिचित हुनेछ।
गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले अबको समय ‘कुरा होइन, काम गर्ने’ हो भन्ने दृढता व्यक्त गरे। “राजनीतिक नेतृत्वहरूले लामो समय बोल्ने काम गरिसके, अब काम गरेर जनताको आशा पूरा गर्ने समय हो,” उनले भने।
उनले मन्त्री राईले ट्याक खोलनका लागि गरेको पैदल यात्रा स्मरण गर्दै भने, “त्यो दिन गरिएको प्रतिबद्धता आज व्यवहारमा परिणत भएको छ। अब यो क्षेत्रका बासिन्दालाई भरिया भन्नु पर्ने समय सकिएको छ।”
प्रतिक्रिया