टोरोन्टो : विश्वकै महँगो कफीमध्ये पर्न आउने 'ब्ल्याक आइभोरी कफी' ले अहिले विश्वभरको ध्यान तानिरहेको छ ।
क्यानडाका व्यापारी ब्लेक डिंकिनले आविष्कार गरेको यो कफीको स्वाद सुगन्धित र नितान्त फरक हुन्छ, तर यसको बनाउने प्रक्रिया सुन्दा भने धेरैलाई झस्किन सक्छ ।
'ब्ल्याक आइभोरी कफी' खासगरी हात्तीको मलबाट बनाइन्छ । सुरुमा हात्तीलाई ठुलो मात्रामा काँचो कफीका फल खुवाइन्छ, जुन त्यसको पेटभित्र विशेष जैविक प्रक्रियाबाट गुज्रिन्छ ।
फलस्वरूप हात्तीको गोबरमा रहेका कफी बीउहरू निकालेर त्यसलाई सुकाइन्छ, प्रशोधन गरिन्छ र अन्ततः महँगो मूल्यमा बजारमा बेचिन्छ ।
अनुमान अनुसार ३३ केजी कफी फल खुवाएपछि मात्र एक किलो कफी बीउ पाइन्छ । यसको एक कप कफीको मूल्य करिब ८ हजार नेपाली रुपैयाँ पर्छ ।
थाइल्यान्डमा व्यावसायिक रूपमा उत्पादन हुने यो कफी तितो नहुने र निकै माइन्ड स्वाद हुने बताइन्छ । यस्तै प्रक्रियाबाट बन्ने अन्य दुई चर्चित कफीहरू पनि छन्— कोपी लुवाक र जाकूँ वर्ड पप कफी ।
कोपी लुवाक कफी, इन्डोनेसियाको मूल कफी हो, जुन ‘एसियन पाम सिभेट’ नामक बिरालो जस्तो जनावरको मलबाट सङ्कलन गरिन्छ ।
सिभेटले खाएको कफीको चेरी पेटमा किण्वन भई गोबरमार्फत बाहिर आउँछ, त्यसपछि त्यसलाई प्रशोधन गरी कफी बनाइन्छ ।
जाकूँ वर्ड पप कफी भने ब्राजिलमा उत्पादन हुन्छ । जाकूँ नामक चरा द्वारा खाइएका कफी चेरीहरू बिस्टामा परिणत भएपछि ती बीउहरू निकालेर सफा गरिन्छ र विशेष विधिबाट प्रशोधन गरिन्छ ।
यी सबै कफीहरूको मूल्य महँगो भए पनि स्वाद, बनाउने शैली र प्रक्रियाको कारणले विशिष्ट मानिन्छन् । स्वादका पारखीहरूका लागि यी अनौठा कफीहरू नयाँ अनुभव बन्न सक्छन् ।
प्रतिक्रिया