पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सोमबार, १२ जेठ २०८२

इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ।

इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेले बताए। सङ्घीय सरकारको एक करोड ३५ लाख रुपैयाँ लागतमा बेलिब्रिज निर्माण भइरहेको छ। यो जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ। बेलिब्रिज ४८.६ मिटर (१६० फिट) लामो हुनेछ।

निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भएको घिमिरेले बताए। ‘बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको छ,’ इन्जिनियर घिमिरेले भने, ‘अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्छ।’ यो स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण भएको हो। यसअघि पुल नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो। मध्य बर्खामा यो सडक पूर्ण रूपमा बन्द हुन्थ्यो।

बेलिब्रिज बनेपछि बर्खामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात चल्नेछ। यसले सामान ढुवानी र यात्रुको आवतजावतमा सहजता ल्याउने अपेक्षा छ। मेची राजमार्गको वैकल्पिक सडक मानिएको यो मार्ग इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर छ। 

इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ। बाँकी भागमा पनि काम सुरु गर्ने प्रक्रिया अघि बढाइएको सडक डिभिजन प्रमुख इन्जिनियर पवन भट्टराईले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार