काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका दिन राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा ल्याउने अभिव्यक्ति दिएपछि सत्तारूढ नेपाली कांग्रेसले त्यसको कडा आपत्ति जनाएको छ।
सोमबार पार्टी पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै चेतावनी दिएका छन्।
शनिबार गोदावरीमा नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले आउँदो जेठ १५ गते राजधानी काठमाडौं एमालेको नियन्त्रणमा रहने निर्देशन दिएका थिए।
महामन्त्री थापाले उक्त अभिव्यक्तिलाई नागरिकलाई उत्तेजित बनाउने खालको रहेको भन्दै त्यसप्रकारका टिप्पणीहरू प्रधानमन्त्रीकै पदको गरिमाविपरीत भएको बताए। "हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा त कल्पनाभन्दा बाहिरको हो," थापाले भने, "त्यस्ता कुराहरू अब पुनः दोहोरिनु हुँदैन, आइन्दा त्यस्ता कुराहरू नदोहोरियोस्। "
थापाले राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक मर्यादाभित्र सीमित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले उत्तेजनात्मक अभिव्यक्ति दिनु घातक हुने उल्लेख गरे।
यसअघि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि कांग्रेस प्रधानमन्त्री ओलीको अभिव्यक्तिको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारिसकेका छन्। उनले कांग्रेस कुनै पनि कब्जाको पक्षमा नरहेको भन्दै शान्तिपूर्ण ढंगले विरोध गर्ने अधिकार सबैलाई सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए।
सत्तारूढ दलकै वरिष्ठ नेताहरूबाट सार्वजनिक रूपमा यस्तो चेतावनी आउनुले ओलीको अभिव्यक्तिलाई लिएर सत्तापक्षमै असहजता देखिएको संकेत गरेको छ।
प्रतिक्रिया