“विद्यार्थी आन्दोलन र नेविसंघ” पुस्तक विमोचन, देउवाले भने– ‘राजनीतिक परिवर्तनको मेरुदण्ड विद्यार्थी आन्दोलन’

शनिबार, १० साउन २०८२

काठमाडौँ : नेपाली विद्यार्थी आन्दोलनको इतिहासलाई समेटेर तयार पारिएको पुस्तक “विद्यार्थी आन्दोलन र ने.वि.सङ्घ” सार्वजनिक गरिएको छ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेतीद्वारा लेखन तथा सङ्कलन गरिएको उक्त पुस्तक नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज विमोचन गरेका हुन् ।

बुढानीलकण्ठस्थित देउवा निवासमा आयोजित विशेष कार्यक्रममा पुस्तक विमोचन गर्दै सभापति देउवाले विद्यार्थी आन्दोलनलाई नेपालको राजनीतिक परिवर्तनको मेरुदण्डको रूपमा चित्रित गरे ।

उनले लेखक उप्रेतीलाई बधाई दिँदै इतिहासको अभिलेखीकरणमार्फत भावी पुस्तालाई मार्गदर्शन गर्ने कार्य भएको बताए । “नेपालको लोकतान्त्रिक यात्रामा विद्यार्थी आन्दोलनको योगदान अमूल्य छ, यो पुस्तक त्यसकै दस्ताबेज बनेको छ,” देउवाले भने ।

पुस्तकमा नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघको संघर्ष, त्याग र आन्दोलनको ऐतिहासिक पृष्ठभूमिसँगै अन्तर्राष्ट्रिय सन्दर्भमा विद्यार्थी आन्दोलनको प्रभाव र परिणामलाई उजागर गरिएको छ । लेखक उप्रेतीले पुस्तक प्रकाशनमार्फत नेविसंघको सृजनात्मक अभियानलाई विस्तार गर्ने उद्देश्य रहेको बताए ।

पुस्तक विमोचन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव ढुङ्गाना, केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रतिमा गौतम, प्रदीप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, नेपाल तरुण दलका प्रतिनिधि तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा देउवाले पुस्तकको महत्त्व औँल्याउँदै लेखक उप्रेतीलाई प्रशंसा गर्दै शुभकामना दिएका थिए । सहभागी नेताहरूले पनि पुस्तकले सङ्गठनको गौरवशाली इतिहासलाई नयाँ पुस्तासामु पुर्‍याउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार