काभ्रे : काभ्रेपलाञ्चोकको पनौतीमा एकै परिवार सवार मोटरसाइकल दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने बाबुछोरा घाइते भएका छन्।
आइतबार पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खस्दा पनौती-५ की ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो।
दुर्घटनामा सुजनाका श्रीमान् विजय थापा (३२) र छोरा बिएन्स थापा (५) घाइते भएका छन्। गम्भीर घाइते भएकी सुजनालाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घाइते बाबुछोरा खतरा मुक्त रहेको र उनीहरूको थप उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। परिवारजन मन्दिर दर्शनको लागि गएका थिए।
प्रतिक्रिया