झापा : आगलागीमा परी गम्भीर घाइते भएका झापा हल्दिबारी गाउँपालिका–४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा मृत्यु भएको छ।
साउन ६ गते आफ्नै घरको भान्सामा ग्यास सिलिन्डरबाट लागेको आगो निभाउने क्रममा घाइते भएका ओलीको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
सो आगलागीमा ओलीसहित उहाँकी पत्नी ५९ वर्षीया गोमादेवी ओली, छोरा ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता ओली र कान्छा छोरा २० वर्षीय आर्यन ओलीसमेत घाइते भएका थिए।
घटनापछि सबै घाइतेलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। गम्भीर अवस्थामा रहेका पुण्यप्रसाद ओली र उनकी बुहारी अनिता ओलीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।
हाल बर्न अस्पतालमा अनिताको उपचार जारी छ भने गोमादेवी र सन्तोष ओली उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। आगलागीको कारण घरमा ठुलो क्षति भएको जनाइएको छ।
प्रतिक्रिया