काठमाडौं : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे स्वतन्त्र नागरिक छानबिन आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको गम्भीर निष्कर्ष निकालिएको छ।
आयोगले स्पष्ट रूपमा घटनामा नेपालको संविधान, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, र नेपालले हस्ताक्षर गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको ठहर गरेको छ। आयोगका अनुसार घटना अघि कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भएका थिए, त्यसपछि वरपरका निजी घरहरूमा आगजनी भएको र सुरक्षाकर्मीहरूले गोली चलाउने अवस्था नरहेको भए पनि गोली चलाइएको थियो।
प्रतिवेदनमा समेटिएका विज्ञहरूको अभिमत अनुसार सुरक्षाकर्मीले अनावश्यक र अत्यधिक बल प्रयोग गरेका थिए। आयोगले कतिपय विषयहरू अझै थप अनुसन्धान आवश्यक रहेको भन्दै पूर्ण निष्कर्षमा पुग्न समय लाग्ने जनाएको छ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले भने, “तीनकुनेमा जुन घटना घट्यो त्यो अत्यन्त दुःखद पक्ष हो। व्यवस्था मान्ने वा नमान्ने सबैले बुझ्नुपर्ने कुरा के हो भने एउटा इतिहास घटित हुँदैछ।” उनले जनताको विरुद्धमा सेना परिचालन गर्ने सोच अस्वीकार्य रहेको भन्दै जनताको शक्ति मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
नेपालीले थप भने, “सेना परिचालन गरेर जनताको आवाज दबाउने सोच संसारका कुनै शक्तिको दायित्व हुन सक्दैन। अबको नेपालमा सबै शक्ति मिलेर अघि बढ्नुपर्छ।”
प्रतिक्रिया