गोलबजार-गदियानी सडक निर्माण : पाँच वर्षमा २८ प्रतिशत मात्र प्रगति

मंगलबार, ०३ असार २०८२

सिरहा : दुई वर्षभित्र पूरा गर्ने लक्ष्यसहित सुरु गरिएको गोलबजार–लगडी–गदियानी सडक निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि अधुरै रहेको छ।

सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोड्ने २८ किलोमिटर लामो यो सडक स्थानीयका लागि हिलो र धुलोको अर्को नाम बनेको छ।

स्थानीय जलेश्वर यादव भन्छन्, “सडक बन्ने भन्दै निकै उत्साहित थियौँ, तर अहिले निराशा बाहेक केही छैन। ठेकेदारले सडक छेउ खनेर छाडिदिएका छन्, न बर्खामा हिँड्न सकिन्छ,न हिउँदमा धुलो सहन सकिन्छ।”

२०७७ साल भदौमा सुरु भएको सडक निर्माण २०७९ फागुन २३ गतेभित्र सम्पन्न गर्ने सम्झौतासहित शिलान्यास गरिएको थियो। तर हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरको मातहतमा निर्माण कार्य भइरहेको यस सडकमा हालसम्म नाला निर्माण र थोरै ग्राभेलको कामबाहेक खासै प्रगति छैन।

निर्देशनालयले दुई पटक म्याद थप गरेर २०८१ फागुन २२ सम्म समय दिएको भए पनि निर्माणको भौतिक प्रगति २८ प्रतिशतमा सीमित छ। निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार ठेकेदारलाई अन्तिम पटक एक वर्षको म्याद थप्ने तयारी भइरहेको छ। उनले भने, “यदि अब पनि काम भएन भने कारबाहीको प्रक्रिया अघि बढाउँछौँ।”

स्थानीय तहका जनप्रतिनिधिहरू ठेकेदार कम्पनीको लापरबाहीप्रति आक्रोशित छन्। अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवले ठेकेदार सम्पर्कमा नआएको र निर्देशनालय पनि निष्क्रिय देखिएको गुनासो गरे।

रु ९१ करोड ३९ लाखको लागतमा सम्झौता भएको यो सडक आयोजनामा हालसम्म करिब रु २५ करोड ४९ लाख भुक्तानी भइसकेको निर्देशनालयले जनाएको छ।

पटक–पटकको आश्वासन, शिलान्यास र म्याद थपका बाबजुद सडक निर्माणले गति लिन नसक्दा यहाँका नागरिक निराश र पीडित छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार