भयावह बन्दै मधेशमा आत्महत्याका घटना

शनिबार, ३१ साउन २०८२
साङ्केतिक तस्बिर

जनकपुर : मधेश प्रदेशमा आत्महत्याका घटनाहरू दिनानुदिन भयावह बन्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र १ हजार २५३ जनाले आत्महत्या गरेका छन् ।

यीमध्ये महिलाको सङ्ख्या ४७५ र पुरुषको ४६७ रहेको छ भने २४६ बालिका र ६५ बालकले पनि आत्महत्या गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ हजार २७८ जनाले आत्महत्या गरेका थिए । त्यसबेला पुरुष बढी थिए भने पछिल्लो वर्ष महिलामध्ये विशेषगरी किशोरी आत्महत्या बढी भएको प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

आत्महत्याका प्रमुख कारणमा परीक्षामा असफलता, प्रेम सम्बन्धमा धोका, हनी ट्र्याप, मोबाइल प्रयोगमा रोक, गेम खेल्न नपाउने, घरायसी विवाद, मानसिक तनाव र आर्थिक समस्या रहेका छन् ।

महिलाको हकमा घरेलु हिंसा, दाइजो, पति परस्त्रीसँग लागेको थाहा पाउनु वा विदेशमा रहेका पतिले बेवफाइ गरेको शङ्काले पनि आत्महत्यामा धकेलेको तथ्य फेला परेको छ ।

मनोविज्ञानका प्राध्यापक रामनरेश दासका अनुसार आत्महत्या न्यूनीकरणका लागि तत्कालीन, मध्यम र दीर्घकालीन रणनीति अपरिहार्य छ ।

उनले २४ घण्टा हेल्पलाइन सेवा र आकस्मिक मनोवैज्ञानिक परामर्श केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिए । साथै, स्वास्थ्य संस्था र समुदायस्तरमै परामर्शदाता उपलब्ध गराएर मानसिक स्वास्थ्य सहयोग सहज बनाउनुपर्नेमा उनले जोड दिए ।

मधेशमा झुन्डिएर वा विष सेवन गरेर आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको प्रहरीले जनाएको छ । यसले परिवार मात्र नभई समाजमै ठूलो विचलन ल्याउने भएकाले आत्महत्याप्रति सजगता र निरुत्साह आवश्यक रहेको विज्ञहरूको निष्कर्ष छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार