एमाले नेता लालबाबु पण्डितकी धर्मपत्नी महतको निधन

विहीबार, १५ जेठ २०८२

ललितपुर : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ। पण्डितका अनुसार विमलाको गएराति पौने एक बजे निधन भएको हो। करिब डेढ वर्षदेखि मायसाइटिस रोगबाट पीडित विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो।

राजनीतिक रूपमै सक्रिय विमला महत २०५४ सालको स्थानीय निर्वाचनमा ललितपुरको सैँबु गाविस वडा नम्बर ४ ९हाल ललितपुर महानगरपालिका वडा नम्बर २५० मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्।

विमला र लालबाबुको विवाह पनि विशेष परिस्थितिमा भएको थियो। २०५९ सालमा नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयमा पार्टी नेताहरूको भेलामै लालबाबु पण्डितको विवाह गर्ने प्रस्ताव आयो।

साथीहरूले विमलाको नाम प्रस्ताव गरेपछि पण्डितले सहमति जनाए। त्यसपछि जनवादी ढंगले बल्खु पार्टी कार्यालयमै विवाह सम्पन्न भयो। मोरङ–काठमाडौं सम्पर्क मञ्चले विवाहको आयोजना गरेको थियो भने प्रमुख अतिथि तत्कालीन महासचिव माधवकुमार नेपाल थिए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीजस्ता नेता पनि सो विवाहमा सहभागी थिए।

विवाहका निम्तोपत्र ‘ए–फोर साइज’को कागजमा चार वटा निम्ताका रूपमा प्रिन्ट गरेर फोटोकपी गरि बाँडिएको पण्डितले सम्झिएका छन्। नेतृ भएकै कारण साथीहरूको चिनजानबाट विवाह गर्न सहज भएको पण्डितको भनाइ छ।

विमला महतको निधनप्रति राजनीतिक क्षेत्रसहितका विभिन्न व्यक्तिहरूले शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार