सुनसरीबाट स्कार्पियोमा ४३८ केजी गाँजा बरामद, चालक फरार

विहीबार, १५ जेठ २०८२

इटहरी : लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। दुहबी नगरपालिका–११ स्थित तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट ४३८ केजी गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय दुहबीको नेतृत्वमा प्रहरी चौकी तनमुना र रामगञ्ज वेलगछियाबाट खटिएको संयुक्त टोलीले बिहीबार बिहान ३ बजे उक्त गाडी जाँचका लागि रोके पनि चालक गाडी छाडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ।

गाडीको तलासी गर्दा प्लास्टिकमा प्याक गरिएको १४ वटा पोका भेटिएको र ती पोका करिब ४३८ केजी गाँजा रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ।

बरामद गरिएको गाँजा र स्कार्पियो गाडी अहिले इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। फरार चालकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार