रौतहट : २२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको भन्दै न्याय खोजिरहेका श्रीनारायण सिंहले उच्च अदालत वीरगंजको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा जाने घोषणा गरेका छन्।
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगंजले सफाइ दिएपछि पीडित पक्षले निराशा व्यक्त गरेका हुन्।
८४ वर्षीय सिंहले न्यायका लागि जीवनभर लडिरहने बताए। उनले भने,'अहिले ८४ वर्षको भएँ, जीवित रहेसम्म न्यायका लागि लडिरहनेछु।'
यस फैसलापछि रौतहटका स्वतन्त्र सांसद किरणकुमार साहले पनि असन्तुष्टि जनाउँदै न्यायाधीश नियुक्तिमा भागबन्डा हुने हो भने सर्वसाधारणले न्याय नपाउने बताए। एमालेमा प्रवेश गरेका साहले अदालतको यो निर्णय काँग्रेस–एमाले गठबन्धनको परिणाम भएको दाबी गरे।
यसैबीच, आलमको रिहाइपछि उनका समर्थकहरूबीच खुशीको माहोल छ। तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले रौतहटभरि खुसीयाली छाएको बताएका छन्।
पूर्वमन्त्री आलमका भाइ महताब आलम गौर कारागारबाट रिहा हुँदा भव्य स्वागत गरिएको थियो। गाउँमा समेत आलमलाई स्वागत गरिएको छ। समर्थकहरूले यो फैसला राजनीतिप्रेरित मुद्दाबाट मुक्त भएको संकेतका रूपमा लिएका छन्।
प्रतिक्रिया