रौतहट इँटाभट्टा काण्डमा सफाइ पाएर रिहा भएका अफताब दुई दिनमै मस्तिष्कघातको शिकार

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : रौतहट इँटाभट्टा काण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलम उच्च अदालत वीरगञ्जबाट सफाइ पाएर जेलमुक्त भएको दुई दिनपछि मस्तिष्कघात (स्ट्रोक) को शिकार भएका छन्।

बुधबार रिहा भएका आलमलाई शुक्रबार बिहान ७ बजे मस्तिष्कघात भएपछि तत्कालै काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ।

२०७६ सालमा रौतहट जिल्ला अदालतले संविधानसभा निर्वाचनको समयमा आफ्नै घरमा बम बनाउने क्रममा घाइते भएका व्यक्तिहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा अफताब आलमसहित उनका भाइहरूलाई जन्मकैदको सजाय सुनाएको थियो।

तर, उक्त फैसलालाई उच्च अदालत वीरगञ्जले बुधबार उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो। फैसलापछि उनी लामो समयपछि जेलमुक्त भएका थिए।

अफताब आलम संविधानसभा सदस्य, सांसद तथा श्रममन्त्रीको पदमा रहीसकेका नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। हालको अवस्थामा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप परीक्षण तथा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार