इलाममा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

बुधबार, २१ जेठ २०८२

इलाम :जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा इलाममा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय र गैरसरकारी संस्था महासङ्घ नेपाल, इलामको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा मनकुमार बराइलीले जातीय भेदभाव र छुवाछूतको सन्दर्भमा प्रस्तुतीकरण गरेका थिए। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले राजनीतिक दलहरूको स्पष्ट इच्छाशक्ति भएमा समाजमा विद्यमान भेदभावको समस्या समाधान गर्न सकिने उल्लेख गरे।

जिल्ला प्रशासन कार्यालयकी प्रमुख कल्पना श्रेष्ठले "भेदभाव जस्तोसुकै होस्, त्यो भेदभाव नै हो" भन्दै कानुन सबै नागरिकले लागू गर्नुपर्नेमा जोड दिइन्।

नेकपा एमालेका प्रतिनिधि उदय राईले आफ्नो पार्टीभित्र भेदभाव नहुने दाबी गर्दै, यदि त्यस्तो व्यवहार देखिएमा कडा कारबाहीको व्यवस्था हुनुपर्ने धारणा राखे। नेपाली कांग्रेसका प्रतिनिधि निरोज खड्गीले दलित अधिकार उत्थान समितिको भूमिकाबारे प्रश्न उठाउँदै, शिक्षा, रोजगारी र जीवनस्तरमा गम्भीर छलफलको आवश्यकता रहेको बताए।

गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष भक्त थामिले जातीय भेदभावविरुद्धको पहल कागजमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नु आवश्यक रहेको बताए। जिल्ला बार एसोसिएसनकी अध्यक्ष विद्या सापकोटाले पनि व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले स्थानीय तहले आफ्नो क्षेत्रमा विद्यमान भेदभावको अभिलेखीकरण गरी विशेष योजना बनाइ कार्यान्वयन गर्नुपर्ने बताए।

नेकपा माओवादीका प्रतिनिधि प्रकाश परिवारले व्यवहारमै दलितमाथि अझै भेदभाव रहिआएको उल्लेख गर्दै, सोच र व्यवहारमा परिवर्तन नभएसम्म यस्ता समस्या कायमै रहने बताए।

दिवसको अवसरमा जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार