धरान: धरानस्थित सैनिक आवासीय महाविद्यालयमा कक्षा ६ र ७ का विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी पहिलो पटक सकारात्मक अभिभावकत्व कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख सहजीकरणकर्ता तथा महाविद्यालयका प्रिन्सिपल रवीन्द्र थापाले सकारात्मक अभिभावकत्वका विविध आयामबारे प्रस्तुति र संवादमार्फत जानकारी गराए।
थापाको संयोजनमा आयोजित अन्तरक्रियात्मक सत्रमा सहभागी अभिभावकहरूले आफ्ना व्यक्तिगत अनुभव र बालबालिका पालनपोषणसम्बन्धी उत्कृष्ट अभ्यासहरू खुलेर प्रस्तुत गरेका थिए।
कार्यक्रमपछि सङ्कलन गरिएको पृष्ठपोषण फारममार्फत प्राप्त प्रेरणादायी सुझाव र समीक्षात्मक अभिमतले महाविद्यालयलाई आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम निर्माण गर्न मद्दत पुग्ने विश्वास प्रिन्सिपल थापाले व्यक्त गरे।
कार्यक्रममा महाविद्यालयका आन्तरिक सञ्चालक समिति सदस्यहरूको समे उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरूमा निमित्त व्यवस्थापकीय प्रमुख सेनानी पूजा श्रेष्ठ, भाइस प्रिन्सिपल केशव विष्ट, हाउस सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद रिमाल, संयोजक रमेश भट्टराई, र सदस्य सचिव हिमाङ्क बस्नेत रहेका थिए।
संयोजक मुकुन्द प्रसाद दाहालले कार्यक्रम सञ्चालन गरेका थिए भने कर्मचारी द्वय फुर्वा शेर्पा र देवेन्द्र भगत श्रेष्ठले प्राविधिक पक्षमा सशक्त सहयोग प्रदान गरेका थिए।
शिक्षा र अभिभावकबिचको सहकार्य समाज रूपान्तरणको आधार बन्न सक्छ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको यो कार्यक्रम प्रेरणादायी, सहभागितामूलक र सन्देशमूलक रूपमा सम्पन्न भएको सहभागीहरूले बताए।
प्रतिक्रिया