धरानका लायन्स क्लबद्वारा पिण्डेश्वर मन्दिर परिसरमा ‘लायन्स वाटिका’ स्थापना

विहीबार, २२ जेठ २०८२

धरान : धरान उपमहानगरपालिका–१४ स्थित धार्मिक स्थल पिण्डेश्वर बाबाधाम मन्दिर परिसरमा लायन्स क्लबहरूको संयुक्त लगानीमा ‘लायन्स वाटिका’ नामक मिनीपार्क निर्माण गरिएको छ।

पार्क निर्माण संयोजक कविता लिम्बूका अनुसार मन्दिर क्षेत्रलाई थप आकर्षक र व्यवस्थित बनाउन झण्डै १५ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको हो। धरानका २० वटा लायन्स क्लबहरूको संयुक्त प्रयासमा पार्क तयार गरिएको हो।

पार्कमा दर्शनार्थी र आगन्तुकहरूका लागि विश्राम गर्न सिमेन्टका बेन्चहरू राखिएको छन्। त्यस्तै, पार्कको मध्यभागमा आकर्षक रुद्राक्षको प्रतिमा पनि स्थापना गरिएको छ।

पार्क निर्माणका लागि वडा नं. १४ कार्यालयले जग्गा उपलब्ध गराएको हो भने वडा नं. १५ कार्यालयले ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको निर्माण संयोजक लिम्बूले जानकारी दिइन्।

उनका अनुसार, निर्माण सम्पन्न भइसकेको पार्क अब छिट्टै स्थानीयवासी र पिण्डेश्वर बाबाधाम समितिलाई हस्तान्तरण गरिनेछ।

यसअघि धरानका लायन्स क्लबहरूले वडा नं. १३ मा रहेको सत्य साई स्कुलमा १ करोड ७० लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिसकेको छन्।

साथै, वडा नं. १७ मा सयपत्री वाल विकास केन्द्र, इलाका प्रशासन कार्यालयमा तीनवटा सार्वजनिक शौचालय, खानेपानी ट्याङ्की, तथा पञ्चकन्या मन्दिरमा चौतारा निर्माण समेत लायन्स क्लबहरूको सहयोगमा सम्पन्न भइसकेको लिम्बूले जानकारी दिइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार