काठमाडौं : म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ प्रदान गरिएको छ। वन्त राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध हुनुका साथै फोटो पत्रकारहरूको संस्था एनएपीजेका अध्यक्षसमेत हुन्।
कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान गरियो। सयौँ कालजयी गीत सिर्जना गरेका खरेल चलचित्र निर्देशन तथा निर्माणमा समेत सक्रिय रहँदै आएका छन्। उनलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको हो।
त्यसैगरी गायक तिलकसिंह पेला ‘रजत सङ्गीत सम्मान’, गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्ले ‘दशक सङ्गीत सम्मान’, गायिका मीना लामा ‘युवा सङ्गीत सम्मान’बाट सम्मानित भए।
संगीत पत्रकारिता पुरस्कार रंगपत्रकार एमपी सुब्बा र दीपाञ्जली शाहले प्राप्त गरे, जसअन्तर्गत उनीहरूलाई रु ५५५५ नगदसहित सम्मान गरियो। बाल प्रतिभा प्रोत्साहन सम्मान पूजा देवकोटालाई, डायस्पोरा सम्मान गीतकार डा. रमिल अधिकारीलाई र संगीत व्यवसायी सम्मान विमल शाहलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न विधाका गायक, गायिका, संगीतकर्मी र मोडलहरूलाई विधागत अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौला, नारायण रायमाझी, दिनेश डिसी, राधेश्याम लेकाली, देविका बन्दना लगायतको उपस्थिति थियो। कार्यक्रमको निर्देशन वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रियले गर्नुभएको थियो।
प्रतिक्रिया