काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपालले आन्तरिक विवाद चुलिँदै गएपछि लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई सङ्गठनबाट निष्कासन गरेको छ । सङ्घले जारी गरेको विज्ञप्तिअनुसार अब उनीहरू सङ्घका साधारण सदस्यसमेत रहने छैनन् ।
सङ्घका प्रवक्ता निरोज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "साउन १९ गते बसेको पदाधिकारी बैठकले सङ्गठनको विधानअनुसार खरेल र राईलाई कारबाही गर्दै सदस्यता समेत खारेज गर्न सिफारिस गरेको छ।"
सङ्घले पहिले नै उनीहरूलाई निलम्बन गरिसकेको थियो भने हाल सङ्गठन र पार्टी दुबैबाट छुट्टाउने निर्णय गरेको हो।
खरेल र राईमाथि पार्टी र नेतृत्वविरुद्ध अनुशासनहीन गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । सङ्घका अनुसार उनीहरूको आचरणले सङ्गठनको गरिमामा आँच पुर्याएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।
तर निष्कासनमा परेका दुवै नेताले आफूमाथिको कारबाहीलाई राजनीतिक प्रतिशोधको परिणाम भनेका छन्।
उनीहरूले आफूहरू राष्ट्रिय महाधिवेशनमा सुमन पुरीको पक्षमा उभिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सार्वजनिक समर्थन जनाएको निहुँमा कारबाही गरिएको आरोप लगाएका छन्।
यो घटनाले राष्ट्रिय युवा सङ्घभित्रको गहिरिँदो गुटबन्दी र आन्तरिक असहमति पुनः सतहमा ल्याएको छ।
प्रतिक्रिया