झापा : कनकाई नगरपालिकाले मृत्युपछि गरिने संस्कारमा आर्थिक बोझ घटाउने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, यो कार्यक्रम नगरवासीको पीडामा साथ दिने सामाजिक उत्तरदायित्वको भावनासहित लागू गरिएको हो ।
नगरवासीले आफन्त गुमाउँदा गहिरो पीडा भोग्ने अवस्थामा ‘सरहे कार्यक्रम’मार्फत सान्त्वना दिने प्रयास गरिएको हो ।
“नगरवासीलाई कठिन घडीमा सहानुभूति दिनु हाम्रो दायित्व हो,” प्रमुख पोखरेलले भन्नुभयो, “परम्परागत सरहे प्रथालाई संस्थागत बनाएर मृत्यु संस्कार सहज बनाउने हाम्रो प्रयास हो ।”
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीका अनुसार, कार्यक्रमअन्तर्गत मृतकका परिवारलाई समवेदनासहित रु ५,००० नगद सहयोग प्रदान गरिनेछ ।
साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनमा आएको हो ।
त्यस्तै, नगरपालिकाले कृषि क्षेत्रको विकास तथा आप्रवासन व्यवस्थापनसम्बन्धी पाँचवटा कानुनको मस्यौदा तयार गरी छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
ती मस्यौदामा कृषि तथा पशुपालनमा अनुदान, सुरक्षित आप्रवासन र आपत्कालीन कोष व्यवस्थापनसम्बन्धी विषय समेटिएका छन् ।
प्रतिक्रिया