स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट एक आमा र उनका छोराको रहस्यमय बेपत्ता भएको घटनापछि सुरक्षा निकाय सक्रिय बनेका छन्।
बुधवार साँझदेखि २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे सम्पर्कविहीन बनेका हुन्। उनीहरू कालीगण्डकी गाउँपालिका–४ बिर्घाका स्थायी बासिन्दा हुन्।
बेपत्ताअघि उनीहरू बसेको भनिएको प्रतीक्षालयमा महिलाको झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेकोले कालीगण्डकी नदीमा डुबेको आशङ्का गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आज बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङ्जाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरी खोजी कार्य भइरहेको छ।
घटनास्थलको अवस्था हेर्दा नदीमा हाम फालेको हुन सक्ने अनुमान गरिएको छ। थप खोजीका लागि पोखराबाट गोताखोर ल्याउने तयारी पनि भइरहेको छ।
सुरक्षा निकायले स्थानीय बासिन्दासँग समन्वय गरेर व्यापक खोजी गरिरहेको छ भने घटना रहस्यमय बन्दै गएपछि विभिन्न आशङ्काहरू पनि उत्पन्न भएका छन्।
प्रतिक्रिया