उपभोक्ता हितका लागि बाणिज्य विभागको निरन्तर अनुगमन

विहीबार, २२ साउन २०८२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन र नियमावलीको उल्लङ्घन गरेको पाइएका १६ उद्योग तथा व्यवसायहरूमाथि कारबाही गरेको छ।

साउन २२ गते (बिहीबार) को अनुगमनमा फेला परेका अनियमितता तथा कमजोरीका आधारमा विभागले केही व्यवसायलाई जरिवाना, केहीलाई विभागमा उपस्थित हुन निर्देशन तथा केहीलाई सामान्य निर्देशन दिएको जनाएको छ।

विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘कार संसार’ र ‘ग्रान्ड कार डेकोर प्रा.लि.’ नामका दुई व्यवसायलाई दश–दश हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(घ) र दफा २९ को उपदफा १(क) अनुसार यी व्यवसायहरूमाथि कारबाही गरिएको हो।

त्यस्तै, ‘सेलवेज क्यास एण्ड क्यारी प्रा. लि.’, ‘स्वप्तिक आयल इण्डष्ट्रिज’, ‘श्री कार किङ्ग’, ‘भाया नेट कम्युनिकेशन’ र ‘एशियन डिष्ट्रिब्यूटर्स’ लगायतका व्यवसायलाई तीन दिनभित्र विभागमा उपस्थित भई आवश्यक कागजात पेश गर्न निर्देशन दिइएको छ।

अन्य व्यवसायहरूलाई ऐनको पालना गर्न र सुधारात्मक उपाय अवलम्बन गर्न सामान्य निर्देशन दिइएको छ। तीमध्ये ‘मनु किराना ट्रेडर्स’, ‘निओ कार एसेसोरिज’, ‘जय भिमसेन टायर एण्ड ब्याट्री हाउस’, ‘नेपाल ग्रेनाइट एण्ड टाइल्स हाउस’, ‘अग्रिम सर्भिसेज’, ‘महाराजगञ्ज एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस’, ‘अल टेक टुल्स’ र ‘त्रिवेणी व्यापार कम्पनी’ जस्ता व्यवसायहरू छन्।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ को प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न नियमित अनुगमन अभियान जारी राख्ने जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार