हिरोसिमा र नागासाकी घटना मानव सभ्यताकै कलङ्क

विहीबार, २२ साउन २०८२

काठमाडौँ : जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्यवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रुपमा हेरिएको धारणा राखे ।

 सन् १९४५ मा अगस्ट ६ र ९ गते  हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दुई लाखभन्दा बढीले अप्राकृतिक मृत्यवरण गर्नुपरेको थियो । त्यस घटनामा हजारौँ व्यक्ति गम्भीर घाइते भए ।

 विश्वमै मानव इतिहासमा कालोदिनका रुपमा चित्रण गरिएको त्यस घटनाका कैयौँ घाइते अझै पनि पीडादायक जीवन व्यतित गरिरहेका छन् ।

 आणविक हतियारको प्रयोगबाट क्षणभरमै त्यति ठूलो मानवीय क्षति भएको इतिहासकै पहिलो घटनाका रुपमा हिरोशिमा र नागासाकी आक्रमणलाई लिने गरिएको छ । त्यस घटनामा महत्वपूर्ण संरचनासहित दुवै सहर ध्वस्त भएका थिए ।

 परराष्ट्र मामिलाका जानकार हीरण्यलाल श्रेष्ठले विश्वका शक्तिशाली भनिएका मुलुकले मानवताविरुद्ध कस्तासम्म कार्य गर्न सक्दा रहेछन् भन्ने उदाहरणका रुपमा हिरोसिमा र नागासाकी घटनालाई लिन सकिने बताए ।

 भगवान गौतमबुद्धको जन्मदेश हुनुका नाताले नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै लुम्बिनीमा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
नेकपा(एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले हिरोसिमा र नागासाकी घटनालाई शक्तिको उन्मादसँग जोडिएको इतिहास भएको टिप्पणी गरे ।

 आयोजक संस्था नेपाल अफ्रो–उसियाली जनएकता सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपासुर शेर्पाले एशियाका तारा गौतमबुद्धको जन्मथलो भएको मुलुक नेपालले विश्वमञ्चमा आणविक हातहतियारका उत्पादन र प्रयोगविरुद्ध तथा जहिले पनि शान्तिका पक्षमा वकालत गर्दै आएको बताए ।

 नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति डा विष्णुविभु घिमिरेले लाखाँै मानिसलाई पलभरमै एकै चिहान बनाएको उक्त घटनाले अध्यात्मप्रति विश्वास राख्नेका लागि पनि ईश्वर छ कि छैन भन्ने प्रश्न उब्जाएको धारणा राखे ।

 प्रा डा कमलकृष्ण श्रेष्ठले परमाणु युद्धले कहिल्यै कसैले जित्न नसक्ने भएकाले शक्ति राष्ट्रलाई यसमा समय र पैसाको बर्बादी नगर्न सुझाव दिए ।
कार्यक्रममा उपप्राध्यापक फूर्वा तेञ्जिङ शेर्पाले  हिरोसिमा र नागासाकी घटनालाई शान्तिकामी निर्देशन जनतामाथि बरबरतापूर्ण आक्रमणको सङ्ज्ञा दिए ।

 विश्वका नौ देशमा १२ हजार ४०० को सङ्ख्यामा रहेको आणविक हतियारले शान्तिका पक्षपाती जनतालाई चुतौती खडा गरिरहेकाले सुरक्षा नष्ट गर्नु आजको प्राथमिक कार्यभार भएको उनको भनाइ थियो ।

 नेपालले विश्वमा सबैखाले लडाई र झगडा अन्त्य गर्न आह्वान गर्दै विश्वशान्तिका लागि आवाज बुलन्द गर्नुपर्नेमा कार्यक्रममा सहभागी अन्य वक्ताको भनाइ थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार