सिरहा : कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गरे ।
“नेपालको अर्थतन्त्रलाई अघि बढाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दछु”, उनले भने । भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरेका छन् ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकासका लागि कमला नदी र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण गर्न आवश्यक रहेको बताए । किसानलाई आवश्यक मलखाद सहज रुपमा उपलब्ध गराउन उहाँले सरकारसँग माग समेत गरेका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख सुरेन्द्रकुमार साहका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीअन्तर्गत लहान–६ र ७ मा रु ३१ करोड ८८ लाखको लागतमा उक्त बहुउद्देश्यीय भवन निर्माण गरिएको हो । सो भवन लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया