अलपत्र अवस्थामा निर्माणाधिन पक्की पुल

शनिबार, २४ जेठ २०८२

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ३ मा पर्ने फाकफोक खोलामा निर्माणाधीन पक्की मोटरबेल पुल अलपत्र परेको छ। कमेरे–दोकानडाँडा–सप्तिन–सल्लेरी–फुएतप्पा–रवि सडक खण्डमा पर्ने फाकफोक खोलाको खप्परे घाटमा सुरु गरिएको पुलको काम तीन पटक म्याद थप गर्दा पनि पूरा हुन सकेको छैन। करिब २ करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको यो पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ। खासगरी हिउँदमा खोलाबाट तर्ने सुविधा नहुँदा मानिसहरू धेरै समस्या भोगिरहेका छन् भने बर्खाको समयमा बाढीले पुल बगाउने जोखिमसमेत बढेको स्थानीयहरूले बताएका छन्।

पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतले सुपर स्ट्रक्चरको काम सकिएको र ग्याविन तथा एप्रोचको काम मात्र बाँकी रहेको जानकारी दिएका छन्। उनका अनुसार अब करिब २०–२५ दिनमै बाँकी काम सम्पन्न गर्न सकिने अवस्था छ। तर पुलको काम पूरा नहुँदा त्यहाँको लघु जलविद्युत पनि जोखिममा परेको छ। पुल पश्चिमतिर रहेको जलविद्युतको कुलो भत्किएको र पुल अधुरो भएका कारण जलविद्युत सञ्चालनमा समस्या भएको हो।

फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले पनि निर्माण कम्पनीलाई पटकपटक सम्झाए पनि काम अघि नबढेको बताए। उनले भने, “निर्माण कम्पनीले काम गर्ने आश्वासन पाएपछि लघु जलविद्युतलाई ९० दिनका लागि बन्द गर्ने सूचना जारी गरियो, तर अहिलेसम्म काम सुरु भएको छैन।” निर्माण जिम्मा पाएको नियडा झापाली जेबीले समयमै काम नसक्दा पुल अलपत्र परेको हो।

त्यसैगरी, कमेरे–दोकानडाँडा–सप्तिन–सल्लेरी–फुएतप्पा–रवि सडक खण्डमा पनि मर्मत र स्तरोन्नतिमा पर्याप्त चासो नहुँदा सडक अलपत्र परेको छ। विशेषगरी दोकानडाँडादेखि साप्तिन, सल्लेरी र फुएतप्पासम्मको सडक निर्माणका लागि बजेट नपरेकाले गाउँपालिकाको केन्द्र पुग्ने छोटो बाटो अवरुद्ध भएको छ। दोकानडाँडादेखि अगाडिको सडकमा काम नहुँदा आवतजावतमा समस्या बढेको स्थानीयले बताए।

फाकफोकथुम गाउँपालिका २ र ३ मा पर्ने फाकफोक खोलामा बेलिब्रिज निर्माणको काम भने तीव्र गतिमा अगाडि बढिरहेको छ। करिब १ करोड २७ लाख रुपैयाँमा ठेक्का लागेको उक्त बेलिब्रिज निर्माण असार मसान्तसम्म सक्ने गरी काम भइरहेको छ। गाउँपालिका अध्यक्ष खनालका अनुसार बेलिब्रिज निर्माण पूरा भएपछि बाढीको समयमा समेत सदरमुकाम पुग्न सहज हुनेछ। गाउँपालिका भित्र विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम समेत भइरहेको छ जसले बाढीबाट सिर्जित समस्या घटाउने विश्वास स्थानीयहरूले लिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार