इटहरी : स्वास्थ्य बिमा प्रणाली विस्तारसँगै सुनसरी जिल्लाका थोक औषधि व्यवसायीहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन्। थोक औषधि विक्रेताहरूले हालको बिमा प्रणालीले आफूहरूको लगानी जोखिममा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रवार इटहरीस्थित होटेल गङ्गा जमुनामा सम्पन्न औषधि व्यवसायीहरूको अन्तरक्रिया कार्यक्रममा सुनसरीका विभिन्न क्षेत्रका थोक विक्रेताहरू सहभागी भएका थिए। कार्यक्रममा व्यवसायीहरूले स्वास्थ्य बिमा लागू भएपछि औषधिको माग घटेको, बजारमा विक्री कमजोर हुँदै गएकाले बैङ्कको ब्याज तिर्नसमेत गाह्रो परेको अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
व्यवसायीहरूका अनुसार, अहिले औषधिहरू क्यासमा खरिद गरिए पनि विक्री मूल्य खरिद मूल्यभन्दा कममा निर्धारण गर्नुपर्ने बाध्यता छ। यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ।
साथै, थोक विक्रेताबाट औषधि खरिद गर्नुको सट्टा बिमा भएका फार्मेसीहरूले कम्पनीहरूसँगै सिधा बिलिङ गर्न थालेपछि थोक बजार झनै दबाबमा परेको व्यवसायीहरूको भनाइ छ।
यति मात्र होइन, बजारमा औषधिको खपत कम हुँदा धेरै औषधिहरू म्याद सकिएर फर्काइएको भए पनि ती औषधिको हिसाब मिलान गर्न कम्पनीहरूले वर्षौँ लगाउने गरेको गुनासो पनि व्यवसायीहरूले गरे।
यसरी विक्री घट्नु, प्रतिस्पर्धा बढ्नु र कम्पनीबाट प्रत्यक्ष आपूर्ति हुनुजस्ता समस्याहरूले औषधि व्यवसायमा गम्भीर सङ्कट निम्त्याएको उनीहरूको भनाइ छ।
यी समस्याहरूको दीर्घकालीन समाधानका लागि नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमिति, सुनसरीले गम्भीर छलफल गरी आवश्यक रणनीति तय गर्दै अघि बढ्ने निर्णय गरेको छ।
आज सम्पन्न थोक व्यवसायी भेलाको निष्कर्ष सुनाउँदै सङ्घका महासचिव नविनराज गौतमले अब एकीकृत आवाज उठाएर नीति निर्माण तहसम्म आफ्ना मागहरू पुर्याउने तयारी भइरहेको बताए।
स्वास्थ्य बिमाको प्रभाव औषधि व्यवसायमात्र होइन, सम्पूर्ण औषधि आपूर्ति प्रणालीमै असर गरिरहेको भन्दै व्यवसायीहरूले चाँडो समाधान नखोजिए औषधि आपूर्तिमा नै सङ्कट आउन सक्ने चेतावनी पनि दिएका छन्।
प्रतिक्रिया