महोत्तरी : मधेस प्रदेशमा चालु आर्थिक वर्षको अवधिमा विपद् सम्बन्धी घटनाबाट ४२२ जनाको ज्यान गएको छ।
आइतबार बर्दिबासमा गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रस्तुत गरेको तथ्याङ्क अनुसार बाढी, डुबान, चट्याङ, आगलागी, हावाहुरी र वन्यजन्तु आक्रमणजस्ता विभिन्न घटनामा यति ठुलो मानवीय क्षति भएको हो।
तथ्याङ्कअनुसार यस अवधिमा साना ठुला गरी २,२५८ विपद्का घटना घटेका छन्, जसबाट ९०० जना घाइते भएका छन् भने आर्थिक रूपमा रु ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको क्षति भएको छ।
प्रदेशका आठवटै जिल्लामा दुई लाख २८ हजार ६८७ जना विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ, जुन ५२ हजार ३३१ परिवारलाई समेट्छ। प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बर्खाजन्य विपद्को जोखिम बढ्दो छ।
महोत्तरी, धनुषा र सर्लाही जिल्लाका प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा सामाजिक सङ्घसंस्थाका अगुवाहरूले विपद्को जोखिम योजनाविहीन विकास, ढल बन्द, पानी निकास अवरुद्ध, निर्माण सामग्रीको जथाभाबी प्रयोग आदिका कारण बढेको बताएका छन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सातवटा स्थानीय तह हरेक वर्ष बर्खा सुरु भए लगत्तै डुबान र कटानको जोखिममा पर्ने गरेको जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहले प्रारम्भिक नक्साङ्कन र तयारी नगरेको, विपद् व्यवस्थापनमा स्थानीय र प्रादेशिक तहको समन्वय कमजोर रहेको गुनासो गरे।
गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पनि प्रदेशमै पूर्व तयारीको काम खासै नभएको स्वीकार गर्दै यस वर्षबाट योजनाबद्ध तयारी थालिएको बताए। उनले आगामी वर्षको बजेटमा विपद् प्रतिकार्य तथा उद्धार कार्यक्रम समावेश गरिने र कार्य योजना बनाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।
प्रतिक्रिया