काठमाडौं : सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–९ स्थित गोक्यो तालमा आत्महत्या गर्ने उद्देश्यले पुगेका एक चिनियाँ नागरिकको नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ। आत्महत्याको योजना बनाएका ३६ वर्षीय छेई हुवाङलाई मंगलबार बिहान गोक्योबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
हुवाङले आफ्नो ३६औँ जन्मदिनको अवसर पारेर गोक्यो तालमा आत्महत्या गर्ने योजना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उक्त जानकारी उनका परिवारले चिनियाँ दूतावासलाई दिएपछि दूतावासले नेपाल प्रहरीलाई तत्काल सूचित गरेको थियो।
दूतावास र पेम्बा शेर्पाबाट प्राप्त सूचनाका आधारमा पर्यटक प्रहरीको विशेष टोली खटिएको थियो। उच्च उचाइमा उद्धारका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो। टोली मंगलबार बिहान गोक्यो पुगेको थियो, जहाँ हुवाङ ‘टंक इन होटल’मा थिए।
होटल सञ्चालक उनलाई सम्झाइरहेका थिए भने प्रहरी पनि सम्झाउने प्रयासमा जुटेको थियो। सुरुमा उनी प्रहरीको अनुरोधमा पनि सहमत भएका थिएनन्। करिब आधा घण्टासम्मको मनोवैज्ञानिक प्रयासपछि मात्र उनी उद्धार टोलीसँग काठमाडौं जान राजी भएका थिए।
उद्धारपछि उनलाई भृकुटीमण्डपस्थित पर्यटक प्रहरी कार्यालयमा राखिएको छ। चिनियाँ दूतावाससँग समन्वय गरेर उनलाई आवश्यक सहयोग र जिम्मा लगाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीले यस्ता संवेदनशील अवस्थाका पर्यटकप्रति उच्च सतर्कता अपनाउँदै आएको जनाएको छ।
प्रतिक्रिया