काठमाडौं : नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने तयारी गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला घोषणा गरेको छ। क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा तीन खेलको टी-२० शृंखला आयोजना हुने जानकारी दिएको हो।
यो नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको राष्ट्रिय टोलीसँग खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज हुनेछ। यसअघि सन् २०२४ मा वेस्ट इन्डिज ‘ए’ टोलीले नेपाल भ्रमण गरी टी-२० शृंखला खेलेको थियो, तर राष्ट्रिय टोलीसँग यो पहिलो भेट हुनेछ।
शृंखला तालिका यस्तो रहेको छ:
पहिलो खेल: २७ सेप्टेम्बर २०२५
दोस्रो खेल: २८ सेप्टेम्बर २०२५
तेस्रो खेल: ३० सेप्टेम्बर २०२५
क्यानले यस शृंखलालाई आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि विशेष अवसरको रूपमा लिएको छ। वार्षिक क्यालेन्डरअनुसार पनि क्यानले टेस्ट राष्ट्रसँग टी-२० शृंखला खेल्ने योजना अघि बढाएको थियो।
प्रतिक्रिया