इलाम : बजारको भीडभाड र पसलको चमकछायाँभन्दा टाढा, इलामको मेची राजमार्गको छेउमै एउटा यस्तो छायाँ देखिन्छ, जहाँ आत्मनिर्भरता पलाउँछ। गोदक नजिकैको सिमल गोलाइमा बिहानको पहिलो घामसँगै महिलाहरू आफ्नो गाउँमा फलाएका लिच्ची बोकेर आउँछन्, न पसल, न बोर्ड, न त कुनै प्रचार। तर, यात्रुहरू उनीहरूसँगको ताजा लिच्चीको स्वाद लिन गाडी रोकेर किनमेल गर्छन्।
८ किलोको डोको, टाउकोमा कपडाको क्याप र अनुहारमा सन्तुष्टि यही हो इलामकी शान्ता धौलेको परिचय। उनी दिनभर लिच्ची बेचेर साँझ घर फर्किन्छिन्। 'गाउँमै पाकेको लिच्ची ल्याउँछौं, ताजा छ, राम्रो बिक्छ। दिनमा ४०–५० किलोसम्म बेचिन्छ', भन्छिन् उनी।
चन्द्रकला नेम्बाङ, जो ५६ वर्ष पुगेकी छिन्, विगतका अनुभव सुनाउँदै भन्छिन्, 'पहिले त फिक्कलसम्म लैजान्थ्यौं लिच्ची बेच्न, तर खर्च बढी, कमाइ थोरै। अब त यही सिमल गोलाइमा बस्छौं, कम खर्च, सहज व्यापार।'
यी महिलाहरूका लागि लिच्ची बेच्नु केवल जीविकोपार्जन होइन आत्मसम्मान, आत्मनिर्भरता र आफ्नो श्रमको मूल्य पाउने माध्यम हो । बजारको ‘लोकल’ ट्रेन्ड उनीहरूका लागि ‘जीवनको आधार’ बनेको छ। सहरबाट आएका उपभोक्ताहरूको लागि यो ताजा, सस्तो र विषादीरहित फलहरूलाई सिधै उत्पादकको हातबाट पाउने दुर्लभ अवसर हो।
यात्रुहरू फिक्कल, इलाम बजार हुँदै ताप्लेजुङ वा पाँचथरतर्फ जाँदै गर्दा यहाँ रोकिन्छन्। कोही थकित हुन्छन्, कोही केवल स्वादका लागि। तर सबैलाई शान्ता र चन्द्रकलाजस्ता महिलाको व्यवहारले उर्जा दिन्छ।
कहिलेकाहीं उनीहरू झापासम्म पनि लिच्ची पठाउँछन्। “बिचौलिया नहुँदा मूल्य सीधै हाम्रो हातमा आउँछ,” भन्छिन् अर्की स्थानीय महिला। उनीहरूको मेहनतले सस्तो, ताजा र अर्गानिक फलफूलको सञ्जाल विकास गरिरहेको छ।
यदि राज्यले यस्ता प्रयासलाई प्रवर्द्धन गर्यो भने ग्रामीण महिला उत्पादकहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छन्। भारतबाट आउने बासी वा विषादीयुक्त फलफूलको भर पर्नुपर्ने अवस्था पनि कम हुनेछ।
प्रतिक्रिया