कोशी प्रदेशमा ९७ प्रतिशत धान रोपाइँ : यस वर्ष उत्पादनमा आशा

सोमबार, ०९ भदौ २०८२

विराटनगर : यस वर्ष कोशी प्रदेशमा धान रोपाइँ समयमै प्रायः सम्पन्न भएसँगै उत्पादनमा सुधार हुने आशा गरिएको छ । विराटनगरस्थित कृषि विकास कार्यालयका अनुसार प्रदेशभर हालसम्म ९७ प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको छ ।

प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ बाहेकका १३ जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । ताप्लेजुङमा भने ८४.६६ प्रतिशत मात्र रोपाइँ भएको कार्यालयले जनाएको छ ।

कार्यालयकी सूचना अधिकारी तथा बागवानी अधिकृत पूर्णमाया गुरुङका अनुसार यो वर्ष २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान भए पनि हालसम्म २ लाख ६८ हजार ७६५.८६ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

गुरुङका अनुसार, धान उत्पादनका मुख्य भण्डार मानिने मोरङ, सुनसरी र झापामा ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सुनसरीमा ४८ हजार ९ हेक्टरमध्ये ४७ हजार ५२८ हेक्टरमा (९७.६२%) रोपाइँ सम्पन्न भएको छ । मोरङमा ६९ हजार ८१७ हेक्टरमध्ये ६८ हजार ८१३ हेक्टरमा (९८%) रोपाइँ भएको छ भने झापामा ७५ हजार ४५९ हेक्टरमध्ये ७२ हजार ७४२ हेक्टर (९६.४%) मा रोपाइँ सकिएको छ ।

प्रदेशका उकालो जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगामा भने शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष यसै समयमा प्रदेशभर ९९.६० प्रतिशत रोपाइँ भएकोमा यसपालि केही कम भए पनि कृषि कार्यालयले यसलाई “सन्तोषजनक” भनेको छ । गुरुङले भनिन्, “धान रोपाइँको प्रगति हेर्दा यसपटक पनि उत्पादन राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।”

कृषि विज्ञहरूका अनुसार धान रोपाइँ समयमै सम्पन्न हुनु उत्पादनको प्रमुख आधार हो । समयमै रोपाइँ हुँदा बालीलाई उचित मौसम र पानी भेटिन्छ, जसले उत्पादन बढाउँछ ।

यसरी, कोशी प्रदेशमा धान रोपाइँको प्रगति देख्दा यो वर्ष प्रदेशको खाद्य सुरक्षामा राहत मिल्ने संकेत गरेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार