पत्रकार पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्वीकारोक्ति

शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ : पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको परराष्ट्र मन्त्री आरजु राणाले स्वीकार गरेकी छन्। जयबीर देउवाको उजुरीको आधारमा पाठक माथि पक्राउ पुर्जी जारी गरिएको पहिलो पटक जानकारी दिएकी हुन ।

पत्रकार पाठक विरुद्ध पक्राउ पुर्जी जारी भएको भनिए पनि न त पाठकले, न त राणाले न साइबर ब्युरोले नै औपचारिक जानकारी दिएका थिए तर रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्ने समाचार प्रकाशित भए पछि उनले लामो स्पष्टीकरण दिएकी छिन् । उनले निर्देशक ज्ञवालीलाई धम्की नदिएको पनि दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु ।

हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनासय सहित  सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।

उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।

उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।

बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबिच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी सङ्घर्ष गरेको नेपाली काँग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा  राम्ररी थाहा छ ।
तर मिडियाको सबैभन्दा ठुलो पक्ष जिम्मेवारी बोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले

मिडिया पिडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार