विराटनगर : सिम्रौनगढ नगरपालिकाको कार्यालयमा शुक्रबार दिउँसो फेरि एकपटक झडप भएको छ। दिउँसो १२ बजेतिर भएको झडप पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र प्रशासन शाखा प्रमुख भोजेन्द्र प्रसाद चौधरीबिच कुटाकुटसम्म पुगेको हो।
प्रशासन शाखा प्रमुख चौधरीका अनुसार, जयसवाल चार जनाको समूहसहित प्रशासन शाखाको कोठामा प्रवेश गरी "मेरो हाजिरी किन काटेको?" भन्दै आक्रोशित मुद्रामा कालर समात्दै हातपात गरे। चौधरीले आफूमाथि भएको आक्रमणको क्रममा दुई तोलाको सुनको सिक्री पनि हराएको दाबी गरेका छन्।
झडपपछि जयसवाल समूह नगर प्रमुख किशोरी प्रसाद कलवारको कार्यकक्षतर्फ गएको र मेयरसँग समेत दुर्व्यवहार गर्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
त्यस क्रममा जयसवाल घटनास्थलबाट भागेका थिए भने उनीसँगै रहेका एक व्यक्ति नजिकैको शिव शक्ति औषधि पसलमा लुकेका थिए। सिम्रौनगढ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
नगरपालिकाभित्र भएको यो विवादले प्रशासनिक कामकाजमै असर पार्ने देखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया