विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रमेश लेखकको राजीनामा र पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दाबीच साटासाट भएको दाबी असत्य भएको स्पष्ट पारेका छन्।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सदनको अवरोध खुलाउने निर्णय र सापकोटाको मुद्दाबीच कुनै पनि सम्बन्ध नरहेको बताएका हुन्। “यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन्,” उनले भने, “भिजिट भिसा प्रकरण र अग्निप्रसाद सापकोटाको कुनै साइनो छैन।”
उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमति गरेको बताए । ‘एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनुपर्ने छ’, प्रचण्डले भने, ‘यस्तो बेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौँ ।’
भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले गहिरो अध्ययन गहिरो हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताए ।
प्रतिक्रिया