विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवलदारको ज्यान गएको छ भने उनकी श्रीमती र दुई वर्षीय छोरा गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी बेलबारी नगरपालिका–४ घर भएका ३१ वर्षीय प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र. १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाइभर्सनमा दुर्घटना भएको थियो।
घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उर्लाबारीस्थित मदन-भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
दुर्घटनामा चौधरीसँगै मोटरसाइकलमा सवार उनकी २६ वर्षीया श्रीमती बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन्।
बिमला पनि इलामको जमुना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन्। घाइते दुवैलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले प्रहरी सेवा गर्दै गरेका चौधरी परिवारमा गहिरो पीडा थपेको छ भने सुरक्षाकर्मी समुदायमा समेत शोक छाएको छ।
प्रतिक्रिया