जिरीका पदमार्गलाई पुनर्जीवन दिने अभियानको कांग्रेस नेता शिवाकोटीले गरे प्रशंसा

आइतबार, ०१ असार २०८२

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दोलखाको जिरीमा पदमार्गहरू पुनर्जीवन दिने अभियानको खुलेर प्रशंसा गरेका छन् ।

काठमाडौंमा आयोजित “जिरी एडभेन्चर ट्रेक” नामक डकुमेन्ट्रीको पहिलो सार्वजनिक प्रदर्शनका क्रममा बोल्दै शिवाकोटीले यस अभियानलाई केवल पर्यटन प्रवर्द्धनको प्रयास मात्र नभई सांस्कृतिक र पर्यावरणीय चेतनासँग जोडिएको दूरदर्शी योजना भनेका छन्।

“जिरी एडभेन्चर ट्रेक केवल डकुमेन्ट्री होइन, पूर्वका पदमार्गहरूलाई पुनर्जीवन दिने अभियान हो,” उनले भने।

दोलखाको गौरव जिरी क्षेत्रलाई सगरमाथा पदमार्गको ऐतिहासिक प्रवेशद्वारको रूपमा चिनाउँदै शिवाकोटीले त्यस क्षेत्रका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई पर्यटनसँग जोड्नुपर्ने बताए।

उनले चेर्दुङ, भुतपोखरी, पाँचपोखरी, जटापोखरी, चिलङ्खा, सैलुङ, कालिन्चोक, च्छोरोल्पा, लप्ची गुम्बा, क्षमावती, हनुमन्ते, सुनखानी, सिंगटीजस्ता स्थानहरूको छुट्टै पर्यटन सम्भावना रहेको उल्लेख गरे।

शिवाकोटीले पूर्व–पश्चिम सन्तुलित पर्यटन विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “सडक, सञ्चार, सूचना प्रवाह, पूर्वाधार र स्थानीय सहभागिता सबै समानरूपमा महत्वपूर्ण छन्।”

पर्यटन प्रवर्द्धनका यस्ता सिर्जनशील पहलहरूलाई कांग्रेस पार्टीले समर्थन गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा नीति निर्माणदेखि कार्यान्वयनसम्म पार्टी सकारात्मक रूपमा उभिने प्रतिबद्धता जनाए।

“स्थानीय सशक्तीकरण, सांस्कृतिक सम्मान र समावेशी विकास हाम्रो पार्टीको मूलमन्त्र हो,” शिवाकोटीले भने, “यस्तो अभियानले युवा नेतृत्व र स्थानीय पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छु।”

उनले जिरी र दोलखाका सबै पर्यटकीय गन्तव्यहरूको आवाज उठाउने आवश्यकता औंल्याउँदै भने, “जहाँ प्रकृति बोल्छ, जहाँ संस्कृति गुञ्जिन्छ, जहाँ साहसिकता जीवनशैली हो – ती सबै स्थानको उज्यालो भविष्यको सम्भावना बोकेको छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार