इजरायलका लागि जासुसी गर्ने व्यक्तिलाई इरानले दियो मृत्युदण्ड

सोमबार, ०२ असार २०८२

इजरायलको मोसाद गुप्तचर निकायका लागि गुप्तचरी गर्ने एक व्यक्तिलाई इरानले सोमवार मृत्युदण्ड दिएको छ ।

इरान र इजरायलबीच द्वन्द्व चलिरहेको बेलामा इरानी न्यायपालिकाले सन् २०२३ मा पक्राउ परी कसुरदार ठहर गरिएका इस्माइल फकरीलाई मृत्युदण्ड दिएको हो ।

फकरीलाई अल्लाहविरुद्ध युद्ध गरेको र धर्तीका विरुद्ध भ्रष्टाचार गरेकाले फाँसीको सजाय दिइएको बताइएको छ ।

तल्लो अदालतले सबै कानुनी प्रक्रिया पुर्‍याएर मृत्युदण्डको सजाय दिएको थियो र त्यसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

यसैबीच इरानी प्रहरीले राजधानी तेहरानको पश्चिमपट्टि रहेको अल्बोर्ज प्रान्तमा मोसादसँग जोडिएका दुईजनालाई आइतवार पक्राउ गरेको छ ।

त्यही दिन इजरायलले पनि इरानको गुप्तचर निकायका लागि काम गरिरहेको आरोपमा आफ्‌ना दुई नागरिकलाई पक्राउ गरेको जानकारी दिएको थियो ।

लामो समयदेखि दुश्मनी गरिरहेका इजरायल र इरानबीच शुक्रवारबाट द्वन्द्व सुरु भएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण प्रत्याक्रमणमा परी ४०० जनाको ज्यान गइसकेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार